काठमाडौं- नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारमा पुस १७ गतेदेखि अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। एक्सचेन्जले बैंकिङ प्रणाली एकीकृत गरी अनलाइनमार्फत पूर्ण कारोबार गर्न लागेको हो ।
यसलाई पुँजी बजारको विकासमा कोसेढुंगा हुने विश्वास गरिएको छ । यसले लगानीकर्तामा उत्साह थपिनेछ ।अनलाइन प्रणालीबाट कारोबार गर्र्न इच्छुक लगानीकर्तालाई नेप्सेले विभिन्न निर्देशिका तोकेको छ।
यसअघि कात्तिक २० गते नै विधिवत् रुपमा नेप्सेले अनलाइन प्रणालीमा गएको भनेर घोषणा गरिएको थियो। अनलाइनबाट कारोबार सुरु गरिए पनि बैंक एकीकृत गरिएको थिएन। बैंक समेत एकीकृत गरेपछि अनलाइनको पूर्ण कारोबार भएको मानिनेछ ।
अनलाइन कारोबार गर्ने लगानीकर्ताले ब्रोकर कार्यालयमा गएर केवाइसी अद्यावधिक गर्नुपर्नेछ। यस्तै डिम्याट खातासम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ। एउटा हितग्राही खातासँग एउटैमात्र कारोबार खाता आबद्ध हुनुपर्छ । लगानीकर्ताले ब्रोकरलाई अनिवार्य रूपमा इमेल ठेगाना उपलब्ध गराउनुपर्ने हुन्छ।
अब के हुन्छ ?
१. सेयर राफसाफको समय घट्दैन
अनलाइन ट्रेडिङलाई आमउपभोक्ताले सेयर बिक्रीलगत्तै बैंकखातामा पैसा आउने र खरिदलगत्तै डिम्याट खातामा सेयर थपिने प्रणालीको रुपमा बुझेका छन् । तर अनलाइन ट्रेडिङ प्रक्रियाले राफसाफको समयमा तत्काल कुनै प्रभाव पार्दैन । सेयर राफसाफका लागि अहिलेजस्तै तीन दिन समय लाग्नेछ ।
२. ब्रोकर, डिपी र सिडिएससीको भूमिका उस्तै
अनलाइन प्रणालीसँगै कतिपयले ब्रोकर तथा डिपीहरुको कुनै भूमिका नहुने र केन्द्रीय सूचना प्रणालीमार्फत सोझै सेयर खरिदबिक्री हुने अनुमान गरेका छन् । तर अनलाइन कारोबारपछि पनि उनीहरुले भूमिकामा कुनै परिवर्तन हुँदैन ।
३. तत्काल कमिसन घट्दैन
अनलाइन ट्रेडिङसँगै सेयर कारोबारमा ब्रोकरले लिने कमिसनको दरमा समेत गिरावट आउने अपेक्षा गरेका छन् । तर नेप्से त्यो दर तत्काल घटाउने पक्षमा छैन । ब्रोकरहरुले अनलाइन ट्रेडिङका लागि ठूलो लगानी गर्नुपर्ने भएकोले तत्काल कमिसन घटाउँदा ब्रोकरहरुमाथि अन्याय हुने भएकोले तत्काल सो कमिसन घट्दैन ।
४. अहिलेको कारोबार प्रणाली निरन्तर रहन्छ
नेप्सेले अनलाइन प्रणालीको सुरुवात गरे पनि अहिले प्रयोग भएको ‘म्यानुअल ट्रेडिङ प्रणाली’ समेत निरन्तर रुपमा रहनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४