काठमाडौं- बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरेको छ।
अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
मौज्दात रकम नभएको आफ्नो खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।
त्यसपछि फरार रहेका भुसाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।