शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको सुझाव।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। शनिबार नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चको आयोजनामा काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन २३’ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

triton college

उनले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको धारणा व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ। महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ।’

उनले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गरे। ‘संविधानले संसद्मा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ। तर अहिले स्थानीय तहमा ४१ प्रतिशत बढी महिला छन्। अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो’, उनले भने। 

महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्दै प्रचण्डले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरुको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिए।

corrent noodles
Metro Mart

कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले विभिन्न राजनीतिक परिवर्तनसँगै महिला सशक्तीकरणको मुद्दा पनि मूल प्रवाहीकरण हुँदै गएको बताए। केही अघिसम्म नेपालमा राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र न्यायपालिका प्रमुखका रुपमा सुशीला कार्कीले काम गरेको स्मरण गर्दै उनले वालमार्टजस्ता बहुराष्ट्रिय कम्पनीको नेतृत्व महिलाले गरेको उल्लेख गरे।

महिलाले नेतृत्व गरेका व्यवसाय अझ बढी व्यवस्थित हुने सांसद चौधरीको भनाइ छ। पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएको उनले बताए।

नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले पहिले घरायसी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिकामा पुगेको धारणा व्यक्त गरे। लैंगिक समानताका क्षेत्रमा परिसंघले महत्वपूर्ण भूमिका वहन गरेको अग्रवालको भनाइ छ। 

‘महिलामा पनि समान वित्तीय पहुँच पुर्‍याएर उद्यमशीतला विकासमा निजी क्षेत्रले योगदान दिइरहेको छ। ठूला व्यावसायिक संस्थामा महिला नेतृत्व आइरहेका छन्’, उनले भने। राष्ट्र बैंकले महिला उद्यमीका लागि २० लाखसम्म बिनाधितो ऋण दिने व्यवस्था गरे पनि त्यसको प्रभावकारिता न्यून रहेको अग्रवालले बताए।

एसियाली विकास बैंकका देशीय निर्देशक आर्नौड काउसिसले महिला सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले महत्त्वपूर्ण नतिजा हासिल गरेको बताए। एडीबीले आफू जोडिएका परियोजना तथा कार्यक्रममा लैंगिक समानतालाई प्रमुखताका साथ उठान गरेको र यो क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।

‘एडीबीको समन्वयका परियोजनामा महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ। यद्यपि, नेपालमा केही संरचनागत, सांस्कृततिक अवरोधले महिला उद्यमीलार्ई केही समस्यामा पारेको देख्न सकिन्छ। महिला सशक्तीकरणका लागि एडीबी सबै सरोकारवाला क्षेत्रसँग सहकार्यका लागि तयार छ’, उनले भने।

कार्यक्रममा परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले कोभिड महामारीका कारण महिला उद्यमीमा परेको असरबारे छलफल र समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइन्।

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदान–प्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनको भनाइ छ। 

दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने परिसंघले जनाएको छ। सम्मेलनको निष्कर्ष एवं सुझाव सरकारलाई हस्तान्तरण गरिने परिसंघ सभापति शर्माले जानकारी दिइन्।

प्रकाशित: Mar 25, 2023| 14:30 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्