नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जब–जब आफ्नो शक्ति गुमेको र कमजोर भएको महसुस गर्छन्, तब ‘अराजकतावादी राष्ट्रवाद’को अस्त्र प्रहार गर्ने गरेका छन्।
केन्द्रीय सत्ताबाट बाहिरिएको एक साता नपुग्दै त्यही प्रवृत्ति दोहोर्याएका छन् उनले। फागुन १५ गते केन्द्रीय सत्ताबाट बाहिरिने निर्णय गरेका एमाले अध्यक्ष ओलीले फागुन २० गते पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डबाट ‘चीनमाथि गद्दारी गरिएको’ टिप्पणी गरे। ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शीर्षकको रिपोर्ट फागुन १८ गते कान्तिपुरमा प्रकाशित भएपछि ओलीले शनिबार प्रचण्ड नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका हुन्।
ओलीले लगाएको आरोप र वास्तविकता भने फरक देखिन्छ। नेकपा एमालेबाट निर्वाचित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले मंसिर ६ गते भारतीय दूतावासलाई पत्र लेख्दै मुस्ताङको संवेदनशील फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोगको आग्रह गरे। ओलीकै मुख्य पहल र समर्थनमा पुस १० गतेमात्र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बने।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष मात्रै होइन, उपाध्यक्षमा एमालेकै दिकी गुरुङ छन् भने भारतको सहयोगमा बौद्ध कलेज स्थापना गर्न लागिएको ५ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुरुङ पनि एमालेबाटै निर्वाचित जनप्रतिनिधि हुन्। एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षको उक्त आग्रहपछि भारतीय दूतावासले ‘बौद्ध कलेज’ स्थापनाको लागि ७० करोड ३३ लाख रुपैयाँ अनुदान स्वीकृति माग गर्दै अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। पुस १० गतेपछि बनेको सरकारका अर्थमन्त्री विष्णु पौडेलले कलेज स्थापनाको विषयलाई फास्ट ट्र्याकमा अघि बढाउन निर्देशन दिएको मन्त्रालयकै अधिकारीले बताएका छन्।
‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शीर्षकको रिपोर्ट फागुन १८ गते कान्तिपुरमा प्रकाशित भएपछि ओलीले शनिबार प्रचण्ड नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका हुन्।
तर, ‘भारतविरोधी राष्ट्रवाद’को छवि बनाएका र आफूबाहेक सबैलाई ‘दलाल’ देख्ने ओलीले भने प्रचण्डलक्षित प्रश्न गरे, ‘मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको के हो? त्यो भनेको राष्ट्रियतामाथिको प्रहार हो, विदेशीको दलाली हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी गर्न खोजेको हो। ३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो? आफ्नै राष्ट्रको सार्वभौम सत्तालाई अस्वीकार गर्न खोजेको हो? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो। खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन्, त्यहाँ। र, यो एउटा बहुतै खतरनाक कुरा हो।’
तथ्यको आँखामा पट्टी बाँधेर ओलीले अहिलेको सरकारले चीनविरुद्ध गद्दारी गरेको दाबी गरे। उनका यी अभिव्यक्तिले सत्ताको नेतृत्व गर्नेले शक्तिको दुरुपयोग कसरी गर्छन् भन्ने प्रश्नहरु जन्माएको छ। दुई पटक मुलुकको प्रधानमन्त्री हुँदा उनले गरेका गतिविधिहरु जगजाहेर छन्।
तर, यस अभिव्यक्तिले थप प्रश्नहरु जन्माएको छ। उनले आफू सरकारका सामेल हुँदा चीनलाई के–के पूरा गरिदिने वाचा गरेका थिए र अहिले त्यो वाचा पूरा नहुँदा कस्तो गद्दारी भयो?, विश्वविद्यालय/कलेज स्थापना गर्नु भनेको राष्ट्रियतामाथिको प्रहार हो? के सत्तामा बस्नेहरुले विदेशीको दलाली गर्छन्?, जुन सत्ताको आफूले नेतृत्व गरिरहेका छन्, उनीहरुले त्यसको सार्वभौमिकतालाई अस्वीकार गर्न सक्छन्?, यदि ओलीले भनेजस्तै त्यहाँ ‘पेड’ मान्छेहरुमात्रै बस्छन् भने के ओली ती र तिनै ‘पेड’ मान्छेहरुका नेता हुन्? उनले प्रश्न अरुलाई गरेको देखिए पनि आफू र आफूले गरेको राजनीतिमाथि प्रश्न गरेका छन्। त्यसको जवाफ ओलीले दिनु किन नपर्ने?
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो, उनले अहिलेसम्म खुलाएका छैनन्।
अमेरिकी कूटनीतिज्ञ जर्ज केननले भनेजस्तै ‘राष्ट्रवाद साम्यवादभन्दा शक्तिशाली छ’ भन्ने बुझेका ओलीले बारम्बार यस्ता अराजकतावादी राष्ट्रवादको मुखुण्डो भिर्ने गरेको विषय नौलो नभए पनि भिड नियन्त्रित राजनीति मौलाइरहेको नेपालका लागि निकै महँगो र अहितकारी हुने देखिन्छ। मुलुक भू–राजनीतिक जटिलताबाट गुज्रिरहेको समयमा दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले दिने यस्ता तथ्य र प्रमाणहीन अभिव्यक्तिप्रति जवाफदेही र जिम्मेवार हुनु पर्दैन?
उनले सोही दिन दिएको अर्को अभिव्यक्ति ‘नेपाली भान्सामा विषादीयुक्त तरकारी’को प्रसंग हो। भारतलगायतका मुलुकबाट आउने तरकारी र खाद्यवस्तुको गुणस्तर र विषादी चेकजाँच गरिनुपर्छ। यसमा यो वा त्यो सरकारमा थियो र गरिएन भन्ने छुट कुनै पार्टी र व्यक्तिलाई छैन। अहिलेको सरकार पनि यसमा चुकिरहेको छ। तर, ओलीले अहिले यो आक्रोश ओकलिरहँदा बिर्सिए– ५ दिनअघि उनकै पार्टीका नेता ज्वालाकुमारी साह कृषिमन्त्री थिइन्। र बिर्सिए आफू प्रधानमन्त्री हुँदा सीमामा तरकारी र फलफूलमा विषादी जाँच गर्न रोक लगाएको निर्णय।
उनी प्रधानमन्त्री हुँदा २०७६ साल असार १९ गते तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा सीमामा तरकारी तथा फूलफूलमा विषादी जाँचमा रोक लगाउने निर्णय गरेको थियो। भारतको चर्को दबाबपछि उक्त निर्णय भएको भन्दै चर्को आलोचनापछि आवश्यक पूर्वाधार बनाएर एक वर्षमै जाँच सुरु गर्ने जवाफ स्वयं ओलीले दिनुपरेको थियो। त्यस समयमा रोकिएको तरकारी तथा फलफूलमा विषादी जाँच्ने विषय पुनः सुरु हुन सकेको छैन।
अराजकतावाद र ओली
प्राचिन ग्रिक शब्द ‘एनार्खिया’बाट बनेको एनार्किज्मको शाब्दिक अर्थ ‘शासकविहीनता’ को अवस्था हो। सामान्यतया अराजकतावादले यस्तो राजनीतिक दर्शन अथवा आन्दोलन हो, जसले सबै अधिकारप्राप्त संस्थाहरुमाथि आशंका गर्ने र वैधानिक संरचना तथा संस्थापित संस्थाहरु र पुँजीवादलाई समाप्त पार्ने उद्देश्य राखेको हुन्छ। फ्रान्सेली क्रान्तिसँगै सुरु भएको अराजकतावाद सुरुवाती दिनमा ‘सकारात्मक परिवर्तन’ उद्देश्यका साथ प्रयोग गरिँदा फ्रान्सेली समाजवादी राजनीतिज्ञ पियरे–जोसेफ प्रोउधोनले पहिलो पटक आफूलाई ‘एनार्किस्ट’ घोषणा गरेका थिए।
१९ औं शताब्दीको सुरुवातिर सकारात्मक परिवर्तन, वर्गीय र विभेदविहीन समाजको वकालत गर्नेहरुलाई ‘एनार्किस्ट’ भनिए पनि १९ औं शताब्दीको अन्त्यतिर अलफ्रेडो बोनान्नोलगायतले ‘इनसरेक्सनरी एनार्किज्म’ को वकालत गरे। जसमा अहिंसालाई अस्वीकार गर्दै हिंसात्मक बहसलाई पुनर्स्थापित गरे।
उनीहरुले ‘द इनभिजिवल कमिटी’ बनाएर राज्य, पुँजीवाद र अन्य शत्रुहरू विरुद्ध तोडफोड र हिंसात्मक माध्यमहरू प्रयोग गरी स्वार्थपूर्तिमा केन्द्रित भए। ‘द इनभिजिवल कमिटी’का सदस्यहरू सन् २००८ मा आतंकवादलगायतका विभिन्न आरोपमा पक्राउ परेका थिए। यही स्वरुपहरुको पछिल्लो संस्करणका रुपमा नेपालमा ओलीले काम गरिरहेका छन्। शासन व्यवस्था, कानुन र संवैधानिक संस्थाहरुमाथि स्वतन्त्रताको नाममा अराजक आक्रमणहरु बढिरहेका छन्।
प्राचिन ग्रिक शब्द ‘एनार्खिया’बाट बनेको एनार्किज्मको शाब्दिक अर्थ ‘शासकविहीनता’ को अवस्था हो। सामान्यतया अराजकतावादले यस्तो राजनीतिक दर्शन अथवा आन्दोलन हो, जसले सबै अधिकारप्राप्त संस्थाहरुमाथि आशंका गर्ने र वैधानिक संरचना तथा संस्थापित संस्थाहरु र पुँजीवादलाई समाप्त पार्ने उद्देश्य राखेको हुन्छ।
झापा विद्रोहबाट उदाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा भने मिखाइल बकुनिनले वकालत गरेको ‘एनार्को कम्युनिज्म’को प्रभाव बढ्दो देखिन्छ। ‘एनार्को कम्युनिज्म’ मा अहंकार र कट्टरपन्थी व्यक्तिवाद हाबी हुन्छ र आफूले अपनाएको शैली नै व्यक्तिगत स्वतन्त्रता प्राप्तिका लागि उत्कृष्ट सामाजिक प्रणाली हो भन्ने विश्वास गरिन्छ।
ओलीले पनि आफूले गरेका सम्पूर्ण कामहरु सही, ‘राष्ट्रवादी’ र अन्तिम सत्य भएको र आफूले सत्तामा हुँदा उत्कृष्ट शासन व्यवस्था लागू गरेको दाबी गर्छन्। तर, आफू बाहिर रहेर अरुले शासन सञ्चालन गर्दा भने दलाली गरेको, राष्ट्रघात गरेको र मुलुकलाई विदेशीको खेल मैदान बनाएको गम्भीर आरोपहरु लगाउँछन्। सर्वोच्च अदालतले असंवैधानिक भएको भन्दा पनि संसद् विघटन गर्न तम्सिने र सत्तामा रहिरहन शक्ति दुरुपयोग गर्दै राष्ट्रपतिजस्तो संवैधानिक पदलाई बदनाम गराउने ओलीको व्यवहार अराजकतावादको पछिल्लो उदाहरण हो।
संसारलाई फेर्छु भनेर गफ दिने र शक्ति–सत्ताबाट आफैंले मुख फेर्नुपरेपछि अत्तालिने ओली शैलीलाई आधुनिक अराजकतावादको रुपमा व्याख्या गर्न सकिन्छ। उनी स्थापित विधि र पद्धति भन्दा पनि ‘म’ र ‘मेरो विचार र अभिव्यक्ति’ नै अन्तिम निष्कर्ष हुन् भन्ने शैलीलाई अराजकतावादको रुपमा व्याख्या गर्न सकिन्छ। त्यसमा पनि राष्ट्रवादको राजनीतिमा ओलीको अराजकतावादको भने लामै सूची बन्न सक्छ। त्यसमा पनि भारतविरोधी राष्ट्रवाद उनको ट्यागलाइन बनेको छ।
झापा विद्रोहकी एक साक्षी गौरा प्रसाईंले २०७८ फागुन २१ गते कान्तिपुरको कोसेलीमा प्रकाशित कुराकानीमा मनमोहन अधिकारीलाई उद्धृत गर्दै भनेकी छन्, ‘मलाई एउटा चिन्ता छ, यो पार्टी बन्न नदिने, यो पार्टी अगाडि बढ्न नदिने दुइटा असाध्यै खराब तत्त्व छन्, यहाँभित्र भन्नुभयो। मैले ‘को हो त कमरेड’ भनेर सोधें। मैले ‘यताउता नभन्ने वचन’ दिएपछि मनमोहनले भन्नुभएको थियो– पहिलो केपी ओली, अर्को वामदेव।’ किनकी ओलीको अराजक शैली मनमोहनले त्यो समयमा नै बुझेका थिए।
अराजक राष्ट्रवादी चिन्तन
२०५४ असोज ४ गते नेपाल र भारतबीच भएको महाकाली सन्धिलाई संसद्को दुई तिहाइ बहुमतले अनुमोदन गर्दा निर्णायक भूमिका खेलेका ओलीले मुलुकमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिने दाबी गरेका थिए। तर, त्यो हालसम्म पनि भित्रिएको छैन। त्यसयता आफ्नो राजनीतिक वैशाखी बनिरहेको भारत नचिढियोस् भन्ने विषयमा ओली सजग रहन्थे। पार्टीभित्र किनारा लागेका बखत आफूलाई सक्रिय बनाउन स्थापना भएको मदन भण्डारी फाउन्डेसनमा भारतीय सहयोगको विषय एमालेभित्रै विवादित बनिरहेको छ। महाकाली सन्धिका बेला ओलीको भूमिकाबाट प्रभावित भारतले ओलीलाई २०७१ सम्म राम्रो सहयोग गरेको एमालेकै नेताहरुले बताउने गरेका छन्।
२०६४ साउनमा दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदा भारतले व्यहोरेको उपचार खर्चको पारदर्शिता नभएको कुरा एमालेजनहरुले उठाउने गर्छन्। भारतसँग यसरी विस्तार हुँदै आएको ओलीको सम्बन्ध संविधान निर्माणको उत्तरार्धमा आएर रोकियो। संविधार जारी भएपछिको भारतको चर्को विरोध गर्दै नाकाबन्दीको विपक्षमा उभिएका ओलीको राष्ट्रवादी ट्याग बलियो बन्यो र लोकप्रियताको ग्राफ पनि उकालो लाग्यो।
भारतबाट टाढिएर राष्ट्रवादी देखिएका ओलीले चीनतर्फ सम्बन्ध विस्तारमा ध्यान दिए। ०७४ को निर्वाचनअघि चिनियाँ कम्युनिस्ट पार्टीकै सक्रियतामा नै नेकपा माओवादीसँग तालमेल गरे र निर्वाचनपछि पार्टी एकता। २०७४ मा दोस्रो पटक प्रधानमन्त्री भइसकेपछि पनि कैयौंपटक सीपीसीका नेताहरुबाट प्रशिक्षण लिए, चीनलाई पनि नेपालमा राजनीतिक प्रभाव विस्तार स्पेस बन्यो।
२०५४ असोज ४ गते नेपाल र भारतबीच भएको महाकाली सन्धिलाई संसद्को दुई तिहाइ बहुमतले अनुमोदन गर्दा निर्णायक भूमिका खेलेका ओलीले मुलुकमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिने दाबी गरेका थिए। तर, त्यो हालसम्म पनि भित्रिएको छैन।
उनले आफूलाई ‘भारतविरोधी’ देखाउन भरमग्दुर प्रयास गरे। यसबीचमा उनले नयाँ नक्सा जारी र त्यसपछि भारतसँग थप दूरी बढाउने अभिव्यक्तिहरु दिन थाले। पौराणिक कथाका पात्र राम नेपालमै जन्मिएको र उनको जन्मभूमि अयोध्या चितवनको ठोरीमा भएको, ‘सत्यमेव जयते कि सिंहमेव जयते’, भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेकोजस्ता गैरजिम्मेवार र तथ्यहीन अभिव्यक्तिको साहरा लिए। यसले राजनीतिक विश्लेषक विष्णु सापकोटाको शब्द सापटी लिने हो भने ओली ‘राष्ट्रवादी’ हुन् कुरा नागरिकमा मीठो भ्रमको रुपमा रहिरह्यो।
भारतविरोधी राष्ट्रवादले चीनको समर्थन पाइरहे पनि आन्तरिक राजनीतिक किचलोका कारण उनी कमजोर बन्दै शक्ति गुम्ने अवस्थामा पुगेपछि भने नयाँ नक्सासहितको पुस्तक वितरणमा रोक लगाउने अवस्थामा पुगे। त्यसको केही समयपछि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरे। विदेशी मुलुकको गुप्तचर प्रमुखसँग गरेको गुपचुप वार्तामा के कुरा भयो, ओलीले अहिलेसम्म खुलाएका छैनन्।
ओलीले नाकाबन्दी र नक्सा सार्वजनिक गर्ने बेला खेलेको राष्ट्रवादको कार्डले गोयलकै गोजीमा हालेर फिर्ता पठाए र सत्ता लम्ब्याउन असंवैधानिक कदम चाल्न बाध्य भए र संसद् विघटन गरे। २०५४ देखि हालसम्मका ओलीका यिनै गतिविधिहरु नियाल्दा उनले राष्ट्रवादी कार्ड देशका लागि भन्दा पनि शक्ति प्राप्ति र सत्तामा उक्लिने भर्याङका रुपमा प्रयोग गरेका छन्।
सत्ता बचाउनकै निम्ति भारतसँग निकट हुने र राजनीतिमा कमजोर हुँदा आन्तरिक समर्थन जुटाउन भारतको विरोध गर्ने गर्ने ओलीको अराजक राष्ट्रवादी प्रवत्तिले न त छिमेकसँगको सम्बन्ध सुधारको सेतु बन्छ, न त नेताको विश्वसनीयता नै रहन्छ। आफूलाई केन्द्रमा राखेर छिमेकीसँगको सम्बन्ध प्रयोग–दुरुपयोग गर्ने अपारदर्शी प्रवृत्तिले उनको अराजकतावादी राष्ट्रवादलाई झल्काएको छ। यसले मुलुकको हितलाई खतरामा पार्ने र विदेशीहरुलाई खेल्ने ‘स्पेस’ प्रदान गर्दछ।