आइतबार, जेठ ३, २०८३

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो।

National life

कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख बराबरको प्रतिसेयर एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिने भएको छ।

त्यस्तै सार्वजनिक निष्कासन गरिने सेयरमध्ये चार लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम एक लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ। आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बिबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ।

प्रकाशित: Feb 28, 2023| 19:16 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्