आइतबार, जेठ ३, २०८३

एक वर्षमा दुई पटक बढाइँदै दूधको मूल्य

राष्ट्रिय दुग्ध विकास बोर्डले किसान र उद्योगीले दूध उत्पादन, व्यापार गर्दा खर्च बढेको कारण देखाएर उपभोक्तालाई मर्का पर्ने गरी प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने प्रस्ताव गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– सरकारको अनुगमन अभावमा बजारमा खाद्य सामग्रीको अचाक्ली मूल्य बढेर भान्सा महँगिएका बेला लागत मूल्य बढेको अनुचित तर्क अगाडि सारेर सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने भएको छ।  राष्ट्रिय दुग्ध विकास बोर्डले किसान र उद्योगीले दूध उत्पादन, व्यापार गर्दा खर्च बढेको कारण देखाएर उपभोक्तालाई मर्का पर्ने गरी प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने प्रस्ताव गरेको छ। 

National life

बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा उद्योगी व्यवसायी, किसान प्रतिनिधि, दुग्ध विकास संस्थान, पशुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको समितिले मूल्य बढाउन सिफारिस गरेपछि एकैपटक १० रुपैयाँ मूल्य बढाइन लागेको हो।

ब्याजदर, पेट्रोलियममा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानलाई घाटा भएकाले मूल्य बढाउन प्रस्ताव गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्रप्रसाद यादवले दाबी गरे। दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनको भनाइ छ। 

बोर्डले एक साताअघि मन्त्रालयमा मूल्य बढाउन पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ। सरकारले यसअघि २८ माघ २०७८ मा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरी किसानको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको थियो।

गत पुसमा पनि केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ मूल्य बढाएसँगै विरोध भएपछि फिर्ता लिन बाध्य भएका थिए। इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुपर्ने अवस्था आएको नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको दाबी छ। उपभोक्तालाई मार पर्ने भए पनि लागत नै नउठ्ने अवस्थामा मूल्य बढाउनुको विकल्प नरहेको उनको तर्क छ।

बजारमा अहिले २५ प्रतिशत दूध अभाव रहेको दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिए। उनका अनुसार चैत–वैशाखदेखि भदौसम्म दूधको ‘अफ सिजन’ भए पनि अभाव पुस–माघदेखि नै हुन थालेको छ। हाल बजारमा दैनिक ३५ लाख लिटर दूध माग रहेकामा ३१ लाख लिटर आपूर्ति भइरहेको र ५ लाख लिटर अपुग रहेको डेरी एसोसिएसनको तथ्यांक छ।

प्रकाशित: Feb 22, 2023| 11:08 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्