काठमाडौं– प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे। प्रेमको प्रतीक गुलाबको फूलको ब्याच लगाएका दर्शक। अधिकांश प्रेमिल रंगको पोसाकमा सजिएका थिए। खचाखच भरिएको काठमाडौंको मण्डला थिएटरभित्रको शीतल वातावरण, रंगको कलात्मक समायोजन र फूलको सजावटले अझ प्रेमिल बनेको पल मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका हुन् अनि आपसमा प्रेम साट्न आएका हुन् ।
गुलाबी रातो र कालो रंगको पोसाकमा सजिएका चर्चित कवि तथा गीतकार वसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ सुरु भयो। कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा वाचन भयो, चौधरीको बहुप्रतीक्षित एकल कविता वाचन ‘कवितासँग वसन्त’।
स्वास्थ्य समस्यालगायतका कारण झन्डै साढे ३ वर्षको निस्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा यस पटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए।
‘लभ इज इन द इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एक घन्टा पोखिए।
सो क्रममा उनले एक दर्जन बढी कविता, मुक्तक र गजल सुनाए। सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्धलगायतसँग सम्बन्धित थिए।
चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हाँस्य एवं रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन्। उनले कवितामा प्रयोग गर्ने विम्ब र प्रतीक अनौठा हुने गरेका छन्। यस्तै, विशेषता यस पटकको प्रणय दिवसमा प्रस्तुत रचनामा समेत झल्कियो।
सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए। ‘आँसु, हाँसो, सुखदुःखजस्ता भावनात्मक रहरबाटै कविता जन्मिन्छ। म चाहन्छु, मेरो कविता नदीको शितल प्रवाहसरी शान्त होस्। पहराबाट छुटेको छहरासरी गतिमय पनि,’ उनले भने, ‘जब मेरा भावनाले शब्द उच्चारण गर्छन् अनि मलाई सुखानुभूति हुन्छ। साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु।’
समर्थनमा दर्शकदीर्घाबाट पर्रर तालि बज्यो ।
कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोषसमेत गरे।
सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढ सय जनाले उनका दुई वटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह)को सामूहिक लोकार्पणसमेत गरेका थिए।
वसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो ।
नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जना सार्वजनिक गरिसकेका छन्। केही समयअघि उनका ८५ वटा कविताको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्। त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एक दर्जन कृति प्रकाशित छन्।