काठमाडौं- नेपाली संस्कृति विशाल छ। अनेक भाषा, संस्कृति र जातजातिले नेपाल सुसज्जीत छ। र, सबै नेपालीका हृदयमा एक अर्काको संस्कृतिप्रतिको अगाध प्रेम र उच्च सम्मान छ। संघीय संरचनाले विकासको मोडललाई अवलम्बन गर्दै नेपालमा ७ सय ५३ स्थानीय तह निर्धारण गर्यो। विकासको समानुपातिक खाका र जनताको सहज सेवाका लागि संघीयता लागू गरियो। गाउँ-गाउँमा सिंहदरबारको नारा दिँदै स्थानीय सरकार बने। तीनै सरकार मध्ये एक हो, कनकासुन्दरी गाउँपालिका।
नेपालको खस भाषाको उदगम थलो मानिने जुम्ला। जिल्लाको सिँजा क्षेत्र। त्यसको केन्द्र विन्दुमा अवस्थित छ कनकासुन्दरी। त्यसैले यसको आफ्नै गर्विलो इतिहास छ। गाउँपालिकाको नामाकरण पनि प्रख्यात कनकासुन्दरी मन्दिरको नामबाट भएको हो। जुम्ला भन्ने वित्तिकै विकटता स्मरण हुन्छ। तर, सेतै हास्ने हिमाल, चन्दननाथ मन्दिरलगायत त्यहाँका प्रख्यात चिनारी पनि त विर्सन सकिँदैन। समुन्द्री सतहदेखि २५१४ मिटर मिटरसम्मको उचाई अवस्थित कनकासुन्दरी भौगोलिक अवस्थितिका हिसावले २९ डिग्री २४ मिनेट ४९ सेकेण्ड उतरि अक्षांश र ८२ डिग्री 0 मिनेट ५५ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ।
जुम्ला सदरमुखकाम खलंगादेखि यो करिव ५५ किलोमिटर दूरीमा पश्चिम भागमा छ। यस गाउँपालिकको पूर्वमा पातारासी गाउँपालिका, पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका, उतरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिँजा गाउँपालिका रहेका छन्। यसले जिल्लाको कुल भूभाग ८.११ प्रतिशल ओगटेको छ। २२५.३६ वर्ग किलो मिटरमा भूभागमा गाउँपालिका फैलिएको छ। कनकासुन्दरी उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो।
कनकासुन्दरी मन्दिरका साथै यस पालिकामा विभिन्न प्रकृतिक तथा पर्यटिकीय स्थल रहेका छन्। पाण्डवगुफा, विराट दरबार, गरुडनुहनी, तिलिचौरमाई, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हुन्।
गाउँपालिकालाई मूल क्षेत्र बनाएर अविरल वगिरहने हिमा नदी, महेन्द्रमल्ली खोला, छलसेरी खोला, धोविघाट खोला, लेतेगाड, जिउगाड, न्याउरिगाड खोलाको छङछङले जोकोहीलाई मोहित पार्छ। र, यीनी नदी तथा खोलाहरूले यहाँको भूमिलाई सिँच्चित गर्ने काम गरिरहेका हुन्छन्। तीनै खोला नदीको सहारामा करिव ५५.३६ प्रतिशत बनक्षेत्र हिरियो छ। २६.२० भूभाग घाँसे मैदान र चरण क्षेत्रले जनावरहरूलाई जीवन प्रदान गरिरहेको छ। १५.१३ किसानको खेतियोग्य जमिनमा पनि कुलोको उचित व्यवस्था छ। त्यही हरियाली जंगलमा जंगली जनावरहरूले बुर्कुस्सी मारिरहेका हुन्छन्। हराहरूको चिरविर त झनै लोभलाग्दो हुन्छ।
जैविक विविधताको हिसावले उच्च पर्वतिीय चिसो हावापानिमा पाइने जिव अर्ना, थार, कस्तुरी, सुगुर, झारल, घोडल, डाँफे, कालिज, क्याडेभ्याकुर आदि जिव मुख्य रूपमा रहेका छन्। जंगल क्षेत्रमा पाइने प्रमुख जडिबुटी पाखनबेद, सतुवा, पाँचऔले, गुच्छिच्याउ, जटामसी, सिलाजित, बनलसुन, कुरिल्लो, खिरौलो, सुर्कील्लो, टिपलाइटच्याउ यहाँका वासिन्दाका आयस्रोतका आधार पनि हुन्। यस गाउँपालिकाको माथिल्लो भेगमा अधिकांस स्थानमा बन तथ खर्क रहेका छन्। गाउँपालिको उतरमा देखिने रमणीय हिमाली श्रृखलाले गाउँपालिकाको शीर चाँदीको हारले छोपे जस्तै देखिन्छ।
ऐतिहाँसिक महत्व सिँजा क्षेत्रको विशेषता बोकेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ। क्षेत्री ब्राम्हण, दलित, जातिको मिश्रित बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलिचालिको भाषा खस नेपाली भषा रहेको हो। धार्मिक रूपमा हिन्दु धर्मालम्बिको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने मुख्य चाडपर्वमा दसैं, तिहार, जनैपूर्णिमा, माघे संक्रन्ति, साउन पूर्णिमा, चैत्य दसैं रहेका हुन्।
धार्मित तथा भाषिक रूममा एकरुपता रहेको यस गाउँपालिकामा सांस्कृतिक चाड पर्वको समयमा गरिने विभिन्न क्रियाकलापले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्छ। भेषभुषाका रुपमा पुरुषले मुख्य रुपमा दौरा, सुरवाल,टोपि तथा कोट र महिलाले गुन्यु, चोली र पटुकी लगाउने गर्छन्।
यतिधेरै विशेषता बोकेको पालिका विकासका हिसावले भने निकै पछि छ। जुम्ला जिल्ला नै विकट, सोही जिल्लाको विकट क्षेत्रमा रहेको कनकासुन्दरी। जहाँ सहज रूपमा पुग्न बाटो-घाटोको सुविधा छैन। बस्न होटल व्यवसाय छैन। त्यहाँका सम्भावना र सुन्दरताको उचित प्रचारप्रसार हुनसकेको छैन। पर्यटकहरूका लागि भर्जिन क्षेत्रका रूपमा रहे पनि प्रचारप्रसार र सुविधाको अभावका कारण त्यसले उचित स्थान पाउन सकेको छैन। जुन कुरालाई गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य पनि स्वीकार्छन्।
'विकट छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा निकै ठूलो समस्या छ। भौतिक पूर्वाधार, आवश्यक शैक्षिक सामग्री, आवश्यक स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीलगायत थुप्रै समस्या खेपिरहेका छौं। यी कुरालाई प्राथमिकतामा राखेर काम गर्न सक्नु नै हाम्रो सफलता हुने छ,' नेपाल समयसँग कुरा गर्दै अध्यक्ष आचार्यले भने। उनले कृषि क्षेत्रमा पनि ठूलो समस्या रहेको बताए। पहाडि भूभाग भएकाले वर्षामा आउने बाढीपहिरोले कुला, नहर बगाइदिएका कारण सिँचाइमा समस्या रहेको उनी औंल्याउँछन्।
'हाम्रो पालिकामा थुप्रै नदी छन्। सिँदाइको पनि उचित व्यवस्था थियो। तर, प्राकृतिक विपत्तीले अहिले धेरै ठाउँका जमिन कुलो विहीन भएका छन्। अब त्यसको व्यवस्थापन पनि गर्नुपर्ने छ,' उनले भने। यसका साथै पर्यटकहरूलाई भित्र्याउन सके कनकासुन्दरीका जनताको जीवनस्थर माथि उकास्न सकिन्थ्यो भन्ने उनलाई लागेको छ। त्यसैले उनीहरू पालिकाका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि डकोमेन्ट्रि बनाउने कार्यमा व्यस्त छन्।
'डकोमेन्ट्रीयका माध्यमबाट धेरैले यहाँको सुन्दरता र एतिहासिकताका बारेमा जान्ने अवसर पाए पर्यटक आउनुहुने छ भन्नेमा हामी विश्वस्त छौं,' आसा मिश्रित स्वरमा उनी भन्छन्। यो भाषा र सभ्यताको उद्गम थलो भएकाले पनि पर्यटक तान्ने उनको भनाइ छ। यसका साथै कर्मचारीको व्यवस्थापन, सहजता लगायतका क्षेत्रमा पनि काम गर्नुपर्ने उनले बताए।