काठमाडौं – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभ सम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै हिजो बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेर फाइनलमा पुगेका हुन। अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिशको जोडी विरुद्ध खेल्ने छन। अर्को सेमिफाइनलमा पटेल र देबसिशको जोडीले हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दलको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराएका थिए।
गल्र्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभबीच फाइनल भिडन्त हुनेछ।
ब्वाइज सिंगल्समा भारतका देबसिश साहु, हङकङका होङ क्यु लाउ, भियतनाममा फाम ला होङ र ताइपेईंका काइ इन याङले सेमिफाइनलमा स्थान सुरक्षित गरे। सोही स्पर्धाको गल्र्समा रुसकी मिलिना शुब्खानकुलोभा, हङकङकी जान लिङ छुन वोङ तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभले सेमिफाइनल यात्रा तय गरे।