काठमाडौं- हालै सम्पन्न नेपाल टी २० क्रिकेट लिगमा स्पट फिक्सिङ तथा म्याच फिक्सिङ भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी)ले अनुसन्धान गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी २० लिग भएको थियो। खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए।
यसैबीच, स्पट फिक्सिङमा संलग्न भएको आरोपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। सीआईबी को टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आलम राष्ट्रिय टोलीका पूर्वअलराउण्डर हुन्। अन्सारीले भने गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। लिगमा उनले जनकपुरबाट खेलेका थिए। उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजनाअनुसार स्पट फिक्सिङमा सहयोग गरेको पुष्टि भएको प्रहरी स्रोतले बताएको छ।
लिगमा म्याच फिक्सिङको पनि प्रयास भएकोमा प्रहरीले त्यसलाई रोकेको तर स्पट फिक्सिङ भने भएको प्रहरीको भनाइ छ। पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु स्पष्ट फिक्सिङ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए। त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन युनिटलाई जानकारी गराइएको उनले बताएका थिए।
त्यसैगरी प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए। त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए।
लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो।