काठमाडौं– सरकारले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको यथार्थपत्रमा पुरानै विवरण प्रस्तुत गरेको छ। नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना पुग्न लाग्दा पनि यथार्थपत्रमा गत जेठ मसान्तसम्मको मात्र तथ्यांक समावेश छ।
राष्ट्र बैंकसँग गत आर्थिक वर्षको सम्पूर्ण विवरण आइसकेको छ। बैंक तथा वित्तीय संस्थाले साउन १५ भित्रै आफ्नो सम्पूर्ण तथ्यांक राष्ट्र बैंकलाई बुझाइसकेका छन्।
तर, अर्थमन्त्रीले आज (२५ साउन) मा प्रस्तुत गरेको तथ्यांक जेठ मसान्तसम्मको मात्रै छ। त्यसो भए अर्थ मन्त्रालयले कुन तथ्यांक यथार्थपत्रमा समावेश गरेको हो त? मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय छैन?
यसबारे जिज्ञासा राख्दा राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग तथ्यांक मागेको–नमागेको बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। भने, ‘हामीले सबै तथ्यांक सार्वजनिक गरेका छैनौं। त्यसैले सार्वजनिक रुपमा उपलब्ध तथ्यांकको आधारमा यथार्थपत्र बनाइएको होला।’
अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार यस वर्ष यथार्थपत्र बनाउँदा अर्थ मन्त्रालयको ’कोर टिम’ संलग्न थिएन। यथार्थपत्र मन्त्रालय बाहिरै बनेर आएको टिप्पणी उनले गरे। ’सरकारले ल्याएको यथार्थपत्र खासमा पहिले नै सार्वजनिक भइसकेको तथ्यांकहरुको थुप्रो हो, यसमा नयाँ कुनै तथ्यांक छैन,’ तिनले भने।
नेपाल राष्ट्र बैंकसँग अहिले वैदेशिक मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालु खाताको अवस्था, रेमिट्यान्स आप्रवाह लगायत सबै क्षेत्रको ताजा तथ्यांक छ। तर, राष्ट्र बैंककै तालुकदार अर्थ मन्त्रालयले संसदमा पुरानो तथ्यांक प्रस्तुत गरेको छ।
उदाहरणका लागि– राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालमा ९ खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। तर, अर्थमन्त्री शर्माले भने ११ महिनाको मात्रै तथ्यांक सार्वजनिक गरे, जुन राष्ट्र बैंकको वेबसाइटमा असारमा नै प्रकाशित भएको थियो।