काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माघ दोस्रो सातादेखि चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण सुरु गर्ने भएको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका ज्येष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटी सचिव हिमालराज दाहालले बताए। सचिव दाहालका अनुसार करिब ५१४ खेलाडी तथा ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन्। नियमितपछि क्रमशः विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ।
प्रशिक्षण सुरु हुनुअघि २ देखि ४ माघमा सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइनेछ। बैठकमा केही खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केही खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो।
यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरु गरिसकेको थियो। त्यतिबेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बरमा हुने भनिए पनि कोरोनाका कारण १ वर्षलाई स्थगित गरिएको थियो।