काठमाडौं- भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएका छन्। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले 'अमृता प्रितमका छानिएका कविता' पुस्तक सार्वजनिक भएका हुन्। शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङगल र अनुवादक केसीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।
कार्यक्रममा कवि तुलसी दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूयी रहेको टिप्पणी गरे। अमृतासँगको आफ्नो पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दी भाषामा संयुक्त रुपमा साहित्यक गतिविधि गरेको बताए। उनले अमृताले नेपाली आदिकवि भानुभक्तमाथि लिखित टिप्पणी समेत गरेको कार्यक्रममार्फत जानकारी दिए।
‘दिल्लीस्थित नेपाली राजदूतावासमा पहिलोपटक भएको साहित्यिक कार्यक्रममा भानुभक्तलाई स्मरण गरेका थियौँ, उक्त कार्यक्रममा अमृतालाई पनि आमन्त्रित गरिएको थियो, त्यहाँ अमृताले भानुभक्तमाथि बोलेको लिखित वक्तव्य दिएकी थिइन्। त्यो मसँग अझैँ सुरक्षित छ, समय आएपछि प्रकाशन गर्ने भनी जतनसााथ राखेको छु,’ उनले बताए।
अनुवादकै विषयमा बोल्दै उनले नेपाली कवितालाई अन्य भाषामा अनुवाद गर्नु अति आवश्यक रहेको बताए। उक्त कार्यका लागि एकल, संयुक्त वा सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताए।
यसैगरी कवि भूपाल राईले अनुवादका क्रममा रीमाले अमृतामाथि अन्याय नगरेको टिप्पणी गरे। कुनैपनि विषय अनुवाद भएर आउँदा लेखकको शैलीसहित आउनुपर्ने बताउँदै त्यो कोसिस रीमाले गरेको बताए। ‘अनुवाद सांस्कृतिक सेतुको काम हो। हुबहु नआउनसक्छ तर कोसिस गर्नुपर्छ। विदेशी अनुवाद गरे नेपालीपन आउनुपर्छ भन्नेहरु पनि छन् तर त्यसको विपक्षमा छु म,’ उनले भने, ‘जस्तो सेक्सपियरको अनुवाद गर्दा सेक्सपियरकै लेखन आउनुपर्छ त्यसमा भानुभक्तको स्वाद आउनुहुँदैन। यसमा रिमाले त्यो प्रयास गरेको छ। यथासक्य कोसिस गरेको छ अमृता प्रितमलाई अन्याय गरेको छैन।’
अनुवादमा जनताको करमा चलेका प्रज्ञालगायत राज्यको कोषबाट स्थापित संस्थाले अनुवादलगायतको काम नगरेकोमा असन्तुष्टी जनाउँदै उनले त्यस्तो काम निजी प्रकाशन गृहले गरेकोमा तारिफ गरे।
कविहरू स्वप्निल स्मृति र लक्ष्मी रुम्बाले अमृताका कविता पनि बाचन गरेको पुस्तक लोकार्पण कार्यक्रमको सहजीकरण बाबु त्रिपाठीले गरेका थिए।