भक्तपुरमा बस अनियन्त्रित भएर घरमा बजारिएको छ। प्रहरीका अनुसार गए राति करिब २ बजे मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडमा बस अनियन्त्रित भई घरमा ठक्कर खाएको हो।
दुवाकोटबाट निकोसेरा जाँदै गरेको बा प्र ०१-००६ ख ५९९८ नम्बरको भाडाको बस सहचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ घर भई हाल सल्लाघारी बस्ने २० वर्षीय अनिल खत्रीले चलाएका थिए। त्यही क्रममा बस अनियन्त्रित भएर चार तले पक्की घरमा बज्रेको थियो।
बसबाट कम्पाउण्डमा रहेको मन्दिरमा पनि क्षति पुगेको छ भने बसको अगाडिको भाग कुच्चिएको छ। प्रहरीले सहचालक खत्रीलाई नियन्त्रणमा लिएको छ। उनले मादक पदार्थ सेवन गरी बस चलाएको प्रहरीले बताएको छ।