काठमाडौं- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ। तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको जनाएको छ।
अल जजीराका अनुसार अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले आइतबार आईआरजीसीको दाबीलाई ‘स्पष्ट रूपमा हतास मनोवृत्तिबाट आएको’ भन्दै खारेज गरेका हुन्। उनले अमेरिकाका सबै परिचालनमा रहेका मानवविहीन प्रणालीको अवस्था पुष्टि गरिएको र ती सबै अमेरिकी नियन्त्रणमै रहेको बताएका छन्।
यसअघि आईआरजीसी नौसेनाले हर्मुज जलमार्गबाट अमेरिकी सेनाको ‘एमके–१८ मोड २ किङफिस’ नामक पानीमुनिको स्वायत्त निगरानी उपकरण कब्जा गरेको दाबी गरेको थियो। इरानी सरकारी प्रसारक आईआरआईबीले आईआरजीसीको वक्तव्य उद्धृत गर्दै उक्त उपकरण उन्नत स्वायत्त मानवविहीन पानीमुनिको सवारी रहेको जनाएको छ।
आईआरजीसीका अनुसार उक्त उपकरण जासुसी उद्देश्यका लागि हर्मुज क्षेत्रमा परिचालित थियो र त्यसलाई सैन्य गुप्तचर तथा विद्युतीय युद्ध क्षमताको प्रयोग गरी ‘समन्वित र जटिल अभियान’ मार्फत नियन्त्रणमा लिइएको हो। आईआरजीसीले कब्जा गरिएको उपकरण आफ्ना विशेषज्ञहरूको जिम्मामा दिइएको र त्यसमा रहेका सूचना तथा डाटा निकाल्ने प्रक्रिया सुरु भएको पनि दाबी गरेको छ। आईआरजीसी नौसेनाले हर्मुज जलमार्गलाई बन्द रहेको दाबी गर्दै त्यस क्षेत्रमा अनधिकृत आवागमन विरुद्ध कडा कारबाही जारी राख्ने चेतावनीसमेत दिएको छ। यद्यपि, अमेरिकी सेनाले भने इरानको उक्त दाबीलाई अस्वीकार गर्दै हर्मुज क्षेत्रमा सञ्चालनमा रहेका आफ्ना सबै मानवविहीन प्रणाली सुरक्षित रहेको दोहोर्याएको छ। एएनआई