काठमाडौं– प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई फिर्ता बोलाएको छ। कँडेललाई सोमबार मुख्यालय तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताएका हुन्।
राईका अनुसार कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको गुनासो आएपछि छानबिनका लागि मुख्यालय तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको आरोप छ।
‘कमान्ड कन्ट्रोलिङ राम्रो नभएको, आर्थिक अनियमिततालगायत केही आरोप आएका हुनाले उनीमाथि छानबिन गर्न बोलाइएको हो,’ उनले भने, ‘जिल्ला कमान्डरले नैतिकवान, व्यावसायिकता देखाएर काम गर्नुपर्ने हुन्छ।’ हाल कँडेलेको सट्टामा कसैलाई नपठाइएको र छानबिन गरी निर्दोष देखिए पूर्ववत् स्थानमा पठाइने राईको भनाइ छ।