 
                                                                                 
                                                                
                                                                                        
                                                        'आमाको सम्झना जहिले पनि आउँछ, तर जब चाडपर्व, खुसीको दिन होस् वा इद होस्, त्यो बेला आमाको याद बढी आउँछ। जब सबैको परिवार जम्मा हुन्छ, तब अभावको अनुभूति हुन्छ- आमा मसँग छैनन्।'
यो कुरा पाकिस्तानकी प्रसिद्ध कवयित्री परवीन शाकिरका एकमात्र छोरा सैयद मुराद अलीले भनेका हुन्। परवीन शाकिरको २६ डिसेम्बर १९९४ मा सडक दुर्घटनामा परी निधन भएको थियो। त्यतिबेला मुराद १५ वर्षका थिए र उनी कक्षा १२ का विद्यार्थी थिए।
परवीन शाकिरलाई पाकिस्तानमा रोमान्टिक कविको रूपमा चिनिन्छ। उनको कविताको मुख्य विषय प्रेम र नारी नै थियो। उनी साहित्यिक परिवारकी थिइन्। शिक्षा क्षेत्रसँग जोडिएर निजामती सेवाको परीक्षा दिएपछि सरकारी जागिर खाइन्।
दुर्घटनाको दिन
मुराद अलीले २६ डिसेम्बरको त्यो चिसो बिहान अझै पनि सम्झिरहेको बताएका छन्, जब उनकी आमा दुर्घटनाका कारण उनीबाट सदाका लागि अलग भइन्। मुरादले भने, 'पानी परिरहेको थियो, आमा सदाझैं तयार भइन् र अफिस गइन्। साढे नौ बजे मलाई फोन आयो- तिम्री आमा दुर्घटनामा परेकी छन्। तपाईं पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा आउनुहोला।'
मुरादले तुरुन्तै परवीन शाकिरका नजिकका साथी परवीन कादिर आगालाई फोन गरे। उनी पनि अस्पताल आइन्। 'त्यस दिन पानी परिरहेको थियो, ट्राफिक सिग्नलले काम गरिरहेको थिएन र बसले उनको कारलाई ठक्कर दियो,' मुराद बताउँछन्। 'अस्पताल पुग्दा मलाई भनियो- उनलाई यहाँ ल्याउँदा उनको पल्स चलिरहेको थियो, तर त्यसपछि उनको मृत्युको खबर दिइयो।'