बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाइमास्ट अनि स्मार्ट सडक बत्तीले झिलीमिली हुँदै पोखरा

हाइमास्ट अनि स्मार्ट सडक बत्तीले झिलीमिली हुँदै पोखरा

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमीली बनाउन सुरु भएको छ। उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकमा हाइमास्ट  र सडकमा बत्ती राखी झिलीमिली बनाउने काम भइरहेको हो। 

National life

पोखरा महानगर र विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेका छन्। चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो। हालसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ। 

महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा १ हजार ६२४ वटा सडक बत्ती जडान गरिनेछ। यसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाटका १ हजार १०४ र १२० वाटका ५२० वटा स्मार्ट बत्ती जडान गरिनेछ। अहिलेसम्म १७१ वटा बत्ती जडान गरिएको छ। सडक बत्ती जडान आगामी फागुनभित्र सकिनेछ। 

पोखरा महानगर प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त उद्घाटन गरे। रिमोटमार्फत बिरौटा, लेकसाइडलगायत ठाउँका राखिएका हाइमास्ट र सडक बत्ती बालिएको थियो। कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो। स्ट्रिट लाइटले रातको समय सडक यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्य बढाउनेछ। पोखरा महानगरले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ। 

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि २७ वटा फिडर प्यानल जडान गरिनेछ। त्यसमध्ये तीन वटा जडान गरिएको छ। सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ। 

Shivam cement

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेयरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ। बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। 

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातीको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।

प्रकाशित: Dec 29, 2022| 16:39 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्