सोमबार, वैशाख २८, २०८३

टोखामा सुरु भयो ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण’

नगरपालिकाले ६० वर्ष बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु भएको छ। टोखाले ६० वर्ष बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो। बुधबार नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखावासी सम्पूर्ण ज्येष्ठ नागरिकले स्वास्थ्य भई बाँच्न ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरु गरिएको जानकारी दिए।

National life

‘२०७४ मा हामी निर्वाचित भएर आएदेखि नै ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरुआत गरेका थियौं। उक्त कार्यक्रमलाई गत वर्षदेखि परिमार्जन एवं परिस्कृत गरेर ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरुआत गरेका हौं, नगरप्रमुख अधिकारीले भने।

उनले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले रेडक्रसबाट निःशुल्क रगत व्यवस्था, उपमेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताए।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन्। ‘कुनै रोगबाट टोखाबासी वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरुआत गरेका हौं’, उनले भनिन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले स्वास्थ्यमा सबै टोखाबासी ज्येष्ठ नागरिकको सरल र सहज पहुँच पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको बताए। ‘कार्यक्रमले जनतासँग स्थानीय सरकार रहेको महसुस गरेको छ’, उनले भने।

प्रमुख प्रशासकीय अधिकृत पाठकका अनुसार उक्त कार्यक्रमबाट ९ हजार टोखाबासी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा ४० लाख बजेट विनियोजन गरेको छ। कार्यक्रममा टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’मार्फत ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा गर्न पाउनु खुसीको कुरा भएको बताए।

११ वडा रहेको टोखाले गत वर्ष १ हजार १५० ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो। यो वर्ष टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल र आधारभूत स्वास्थ्य केन्द्र महादेवटार हाइटबाट ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सो नगरपालिकाले जनाएको छ।

प्रकाशित: Dec 14, 2022| 16:36 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्