शुक्रबार, फागुन २९, २०८२

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिकास्थित चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा विद्यार्थी अभाव।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

कुश्मा– वनको माझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालय कक्षाकोठाका ढोका सधैं खुला हुन्छन्। उनीहरूका लागि बनाइएका डेस्क–बेन्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ।  

National life

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० मा स्थापना भएको हो। विगतमा विद्यार्थीको संख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन्। 

विद्यालयमा  विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो। त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन्। 

‘गत वर्षसम्म १०÷१५ विद्यार्थी नियमित पढ्न आउँथे। गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्। विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन। पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ’, उनले भनिन्। 

विद्यार्थीबिनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन्। चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने चाहना रहेको उनले बताइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पंगालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घन्टा टाढाको विद्यालयमा पुग्छन्। 

Laxmi sunrise bank
kumari

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयको भनाइ छ। ‘गाउँको ७० घरका  विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीय शेरबहादुर केसीले भने, ‘विद्यालय आउने  खोलामा पुल, सहज बाटो निर्माण र अंग्रेजी माध्यमबाट पठनपाठन  गर्न पालिकामा छलफल भइरहेको छ।’

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ। ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट वञ्चित हुनु हुँदैन’, पालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ। केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ।’–रासस

प्रकाशित: Dec 05, 2022| 17:40 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्