शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • ठूला व्यापारिक घरानाको कब्जामा लघुबिमा, यस्तो छ अर्थमन्त्रीसँगको 'कनेक्सन'

ठूला व्यापारिक घरानाको कब्जामा लघुबिमा, यस्तो छ अर्थमन्त्रीसँगको 'कनेक्सन'

अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। चुनावका लागि मोटो रकम चाहिने र लघुबिमाको लाइसेन्स सीमित व्यापारिक घरानालाई दिँदा चन्दा आउने आशामा उनले चुनाव अगाडि नै लाइसेन्स दिनका लागि प्राधिकरणका कार्यकारी अध्यक्ष सूर्यप्रसाद सिलवालाई दबाब दिएको स्रोतको दाबी छ।
 |  आइतबार, मंसिर १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– नेपाल बिमा प्राधिकरणले अर्थमन्त्रीको दबाबमा ठूला व्यापारिक घरानालाई नै लघुबिमा कम्पनीको लाइसेन्स दिएको छ। यही मंसिर ११ गते सूचना प्रकाशित गरी ३ वटा लघु जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमा गरी ७ वटा कम्पनीलाई नयाँ लाइसेन्स दिइएको हो।

sagarmatha cement

अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। चुनावका लागि मोटो रकम चाहिने र लघुबिमाको लाइसेन्स सीमित व्यापारिक घरानालाई दिँदा चन्दा आउने आशामा उनले चुनाव अगाडि नै लाइसेन्स दिनका लागि प्राधिकरणका कार्यकारी अध्यक्ष सूर्यप्रसाद सिलवालाई दबाब दिएको स्रोतको दाबी छ।

एकातिर व्यापक विरोध र अर्कोतर्फ निर्वाचन आयोगले नै स्पष्टीकरण सोधेपछि रोकिएको नयाँ लाइसेन्स प्रक्रिया अर्थमन्त्री शर्माले पश्चिम रुकुमबाट चुनाव जितेर आएको दोस्रो दिन नै सुरु भएको हो। बिमा प्राधिकरणका एक उच्च अधिकारीका अनुसार शर्मालाई चुनावमा मोटो रकम चन्दा दिनेहरुले मात्र नयाँ लघुबिमा कम्पनीको लाइसेन्स पाएका छन्।

गत भदौ १० गते सूचना जारी गरी प्राधिकरणले लघुबिमाको लागि नयाँ लाइसेन्स लिन आवेदन माग गरेको थियो। तर निर्वाचन आयोगले नयाँ लाइसेन्स वितरणका लागि आचार संहिताले रोक लगाएको भन्दै स्पष्टीकरण माग गरेपछि नयाँ लाइसेन्स दिइएको थिएन। नयाँ लघुबिमाका लागि प्राधिकरणमा ३१ वटा कम्पनीले आवेदन दिएको थियो। तर प्राधिकरणले ७ वटा कम्पनीलाई मात्र नयाँ लाइसेन्स दिनुले पनि अर्थमन्त्रीको नजिकले मात्र लाइसेन्स प्राप्त गरेको स्पष्ट देखिन्छ। 

लाइसेन्स प्राप्त नयाँ कम्पनीमध्ये २ वटा कम्पनी शंकर ग्रुपअन्तर्गतका छन्। शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल मालिक रहेको दुईवटा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी मोरङ,  विराटनगर र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड भरतपुर, चितवन रहेका छन्। 

worldlink

नेपाल बिमा प्राधिकरणमा राखिएको रेकर्ड अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सम्पर्क व्यक्तिमा गणेश अग्रवाललाई राखिएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको सम्पर्क व्यक्तिमा राजन केसी रहेका छन्। दुवै शंकर ग्रुपका कर्मचारीहरु हुन्। 

अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। चुनावका लागि मोटो रकम चाहिने र लघुबिमाको लाइसेन्स सीमित व्यापारिक घरानालाई दिँदा चन्दा आउने आशामा उनले चुनाव अगाडि नै लाइसेन्स दिनका लागि प्राधिकरणका कार्यकारी अध्यक्ष सूर्यप्रसाद सिलवालाई दबाब दिएको स्रोतको दाबी छ।

मंसिर ४ मा भएको चुनावमा नेकपा माओवादीलाई शंकर ग्रुपले मोटो रकम चन्दा दिएको र सोही गुन लघुबिमाको लाइसेन्स दिएर अर्थमन्त्री शर्माले तिरेको प्राधिकरणका कर्मचारीबीच चर्चा चल्ने गरेको छ।

नयाँ लाइसेन्स पाउनेमा लक्की ग्रुपको कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर, सुर्खेत र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लि. धनगढी, कैलाली रहेका छन्। यी दुवै कम्पनी लक्की ग्रुपका अध्यक्ष सतिश मोरका आफन्त क्रमशः अमित मोर र राजिव मोरका हुन्। सतिश मोर यसअघि नेपाल उद्योग परिसंघका अध्यक्ष थिए। उनले पनि मोटो रकम चुनावमा चन्दा दिएकोले लाइसेन्स पाएको बताइएको छ।

अर्को लघु बिमा कम्पनीको लाइसेन्स पाउने व्यावसायिक ग्रुप हो खेतान। खेतान ग्रुपको कम्पनी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड जनकपुरधाम, धनुषा रहेको छ। सो कम्पनीको मुख्य व्यक्ति सुजन के राज भए पनि उनी खेतान ग्रुपका खास मान्छे हुन्। खेतान ग्रुप व्यवसायी राजेन्द्र खेतानको हो। उनी यसअघि नेकपा एमालेको तर्फबाट दोस्रो संविधानसभामाका सदस्य समेत भएका थिए। उनी पोर्चुगलको अवैतनिक वाणिज्य दूत समेत थिए। उनी अर्थमन्त्री जनार्दन शर्मासँग नजिक भएसँगै सहयोग पनि गरेकोले उनको लघुबिमा कम्पनीले पनि नयाँ लाइसेन्स पाएको हो।

दुईवटा नयाँ लघुबिमा कम्पनीमा साइन रेसुङ्गा ग्रुपद्वारा प्रवर्दित लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। सोही ग्रुपले सञ्चालन गरेको साइन रेसुङ्गा विकास बैंक हालै एनसीसी बैंकसँग मर्ज भएको छ। सोही ग्रुपका एक मनिष तिमल्सिना सम्पर्क व्यक्ति रहेको सो लघुबिमा कास्कीको पोखरामा रहेको छ। 

त्यस्तै नयाँ लघुबिमाको लाइसेन्स पाउने कम्पनीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। सो कम्पनीको सम्पर्क व्यक्ति रचित अग्रवाल हुन् भने कम्पनी रुपन्देहीको बुटवलमा रहेको छ। यसअघि लघुबिमा कम्पनी लाइसेन्सको अनुमति माग गर्दै ३१ वटा कम्पनीले आवेदन दिएका थिए। तर ती सबैलाई पाखा लगाउँदै ७ वटा कम्पनीले मात्र लाइसेन्स पाएका हुन्।

धेरै कम्पनीहरुलाई लाइसेन्स दिँदा अस्वस्थ प्रतिष्पर्धा बढेर पुनः मर्ज हुनुपर्ने अवस्थामा आउन सक्ने भन्दै थोरैलाई मात्र लाइसेन्स दिइएको बिमा प्राधिकरणले जनाएको छ। नयाँ लघु बिमाको लाइसेन्सका लागि जीवन लघु बिमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बिमा, जानकी जीवन लघुबिमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बिमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बिमा कम्पनीको आवेदन परेको थियो।

त्यस्तै निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बिमा रहेका छन्। यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स, स्टार माइक्रो, गण्डकी माइक्रो, सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको थियो।

प्रकाशित: Dec 04, 2022| 16:29 आइतबार, मंसिर १८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्