बुधबार, भदौ १७, २०८३

बाढीमा उद्धारमा खटिएको 'ग्रीन आर्मी' को वास्तविकता के हो ?

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- पछिल्लो समय बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सैनिक शैलीको हरियो पोसाक लगाएर उद्धार तथा राहतमा खटिएको एउटा समूह देखिन थालेपछि धेरैको चासो बढेको छ।

पोसाकमा ‘आर्मी’ लेखिएको र स्वयंसेवकहरू कडा अनुशासनमा परिचालित देखिएपछि कतिपयले उक्त समूहलाई नेपाली सेना वा अन्य सुरक्षा निकायको टोलीसमेत ठानेका छन्। तर, ‘ग्रीन आर्मी नेपाल’ नामको उक्त समूह सरकारी सुरक्षा निकाय नभई वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी स्वयंसेवी संस्था भएको खुलेको छ।

‘ग्रीन आर्मी नेपाल’ ले विशेषगरी युवालाई सामाजिक सेवासँग जोड्ने र विपद्का समयमा उद्धार तथा राहत कार्यमा राज्यका निकायलाई सहयोग गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गर्दै आएको जनाएको छ। बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा आवश्यक जनशक्ति परिचालन गर्न सक्ने स्वयंसेवक तयार पार्ने संस्थाको उद्देश्य रहेको बताइएको छ।

संस्थाले विद्यालय तहबाटै बालबालिका तथा युवालाई वातावरण संरक्षण र विपद् व्यवस्थापनसम्बन्धी चेतना दिने काम गर्दै आएको छ। विद्यालयमा वातावरणीय क्लबमार्फत वृक्षारोपण, सरसफाइ, वातावरण संरक्षण तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानीबारे तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको संस्थाले जनाएको छ।

हालै बाढी प्रभावित क्षेत्रमा पनि ‘ग्रीन आर्मी’ का स्वयंसेवकहरू सुरक्षाकर्मी र अन्य उद्धारकर्मीसँगै सरसफाइ, भग्नावशेष हटाउने तथा प्रभावित नागरिकलाई सहयोग गर्ने काममा खटिरहेको देखिएको छ। प्रभावित क्षेत्रमा उनीहरूको उपस्थितिले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।

संस्थापक अध्यक्ष सविन शर्माको नेतृत्वमा रहेको ‘ग्रीन आर्मी’ वातावरण संरक्षण र विपद् व्यवस्थापनमा केन्द्रित स्वयंसेवी संस्था रहेको पाइएको छ।

संस्थाले गोकर्णेश्वर नगरपालिकामा वातावरण संस्था तथा विपद व्यवस्थापन र अन्य सामाजिक कार्य गर्ने गरि दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यलय काठमाडौँले २०७८ सालमै पोशाक लगाउन अनुमति दिएको पाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको २०७८ साउन १२ गतेको सचिवस्तरीय निर्णय अनुसार ग्रीन आर्मी नेपाललाई सेनाको पोशाकसँग मेल नखाने र वातावरणसँग सम्बन्धित संस्था भएकाले पोशाक प्रयोगको अनुमति दिएको थ्यियो। यसका लागि जिल्ला प्रशासनले जिल्ला सुरक्षा समिति र जङ्गी अड्डाको राय मागिएको अनुमति पत्रमा उल्लेख छ।

त्यस्तै ‘ग्रीन आर्मी’ को प्रमुख सल्लाहकारमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रूपमा जोडिएको पाइएको छ। विपद्का समयमा स्वयंसेवक परिचालन तथा सामाजिक सेवाका गतिविधिमा उनीसहितको टोलीसमेत सहभागी हुँदै आएको संस्थाले जनाएको छ।

यद्यपि, सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक र ‘आर्मी’ शब्द प्रयोग गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने विषयलाई भने संस्थाले गम्भीर रूपमा लिनुपर्ने देखिएको छ। संस्था गैरसैनिक प्रकृतिको भए पनि बाहिरी स्वरुपका कारण सुरक्षा निकायसँग सम्बन्धित रहेको गलत बुझाइ उत्पन्न हुन सक्ने भएकाले यसको परिचय र भूमिकाबारे स्पष्ट जानकारी दिन आवश्यक रहेको आवाज समेत उठिरहेका छन्।

‘ग्रीन आर्मी नेपाल’ ले भने आफूहरूको मुख्य उद्देश्य सैन्य गतिविधि नभई वातावरण संरक्षण, सामाजिक सेवा र विपद्का समयमा स्वयंसेवी सहयोग रहेको स्पष्ट पार्दै आएको छ। 

पूरानै सस्था भएपनि अहिले भोटेकोशीको महाविपदमा पोशाकसहितको उपस्थितिले सबैको ध्यान खिचेको छ।

प्रकाशित: Sep 02, 2026| 07:54 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्