बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाढीमा हाइड्रोपावर कर्मचारी कृतसिंह विष्ट बेपत्ता, खोजीका लागि परिवारको अपिल

बाढीमा हाइड्रोपावर कर्मचारी कृतसिंह विष्ट बेपत्ता, खोजीका लागि परिवारको अपिल

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि अपर त्रिशूली-३ ‘ए’ हाइड्रोपावरमा कार्यरत डोटीका कृतसिंह विष्ट सम्पर्कविहीन भएका छन्।

डोटीको दिपायल सिलगढी नगरपालिका-७, रातुली स्थायी घर भएका विष्ट देवघाटमा दरबन्दी भई उक्त हाइड्रोपावरमा कार्यरत थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीपछि उनी हालसम्म परिवार, आफन्त तथा साथीभाइको सम्पर्कमा आएका छैनन्।

उनकी श्रीमती कल्पना ओझा बिष्टले अहिलेसम्म श्रीमान‍्को कुनै पत्तो नभएकाले खोजीका लागि आग्रह गरेकी छन्। 'उहाँको देवघाटमा दरबन्दी थियो। तर, साथीहरूको आग्रह अनुसार अपर त्रिशूली-३ 'ए'मा काम गर्दै आउनु भएको थियो। बेपत्ता भएको ११ दिन वित्दा पनि सरकारी पक्षबाट अपेक्षित तदारुपता नदेखाउनु दुखद कुरा हो,' उनले भनिन्।

सरकारले सुरुमै विज्ञ टोली र विदेशी विज्ञहरूको सहयोग लिएको भए अहिलेसम्म उद्धार भइसक्ने उनको विश्वास छ। 'यस्तो बेला सरकारले उद्धारका लागि कुनै कसर बाँकि राख्नु हुन्थेन।  सरकारबाट ठूलो त्रुटी भएको छ। उहाँहरूको सकुसल उद्धार हुने हाम्रो आसा अझैँ मरेको छैन। यदि यो आसा निराशामा परिणत भएमा यसको जिम्मेवार राज्य हुनेछ,' उनले दुखेसो पोखिन्।

उनले सानो बाबुले दिनहुँ बाबा कहाँ हुन्छ भनेर आफूलाई सोध्ने गरेको र आफू झनै भाबुक तथा नाजवाफ रहेको उनले बताइन्। उनले खोजी कार्यलाई तीव्र बनाइदिन उद्धार टोली, सरकारी निकाय, स्थानीय प्रशासन र सर्वसाधारणसमक्ष अपिल गरेकी छन्।

विष्टको अवस्थाबारे कुनै जानकारी पाएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूलाई खबर गरिदिन आफन्तजनले आग्रह गरेका छन्।

प्रकाशित: Sep 02, 2026| 17:34 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्