काठमाडौं– पछिल्लो समय भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। सरकारी स्वामित्वको आयल निगमले मूल्य समायोजन गर्नुको साटो ऋणमै रहेको बताएर नाफा कमाउनमै ध्यान दिन थालेको छ।
नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। पछिल्लो समय भारतबाट घटेर आएको पेट्रोलियम मूल्य समायोजन नगरे निगमले दैनिक २ करोड नाफा कमाउनेछ। निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा ५८ करोड बढी नाफा हुनेछ।
भारतले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ। त्यस्तै, पेट्रोलमा प्रतिलिटर १३ र मट्टीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ। निगम घाटामा भएको खाना पकाउने ग्यासमा मात्रै हो। ग्यासको घाटा पनि घटेर प्रतिसिलिन्डर २७७ रुपैयाँ मात्रै हुनेछ।
निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै आए पनि पछिल्लो समय भारतबाट मूल्य बढेर आउँदा नेपालमा बढाइहाल्ने र घटेर आउँदा समायोजन गर्न आनाकानी गरिरहेको छ। सरकारी स्वामित्वको संस्थानले उपभोक्तामाथि खेलवाड गरिरहेको भन्दै उपभोक्ता हित सम्बद्ध विभिन्न संघ–संस्थाले विरोध गर्दै आएका छन्।