शुक्रबार, जेठ २९, २०८३

बझाङको अर्गानिक आलुले पाएन बजार

गुड्खोरीका किसान गोरख धामीको समूहले पनि कृषि ज्ञान केन्द्रको अनुदानमा ८० क्विन्टल आलु लगाएको थियो। साउनदेखि बारीबाट निकाल्न सुरू गरेको आलु दुई महिना बजार नपाउँदै गाउँमै रोकिएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

बझाङ- सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ। आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनी चिन्तामा परेका छन्।

National life

साउनदेखि सडक अवरूद्ध भएपछि उत्पादन भएको आलु गाउँमा रोकिएको उनले गुनासो गरे। बोहराले भने, ‘आलु निकालेको एक महिनापछि मात्रै आलु बिक्रीका लागि पठायौँ। सुरूसुरूमा त तरकारी राम्रै बिक्री भयो। अहिले भने तराई पुर्‍याएको आलु पनि थन्किएको छ।’

सुर्मामा बोहराको जस्तै यहाँका अन्य किसानको पनि समस्या उस्तै छ। उनीहरूलाई पनि आफ्नो बारीमा उत्पादन भएको आलु बिक्री नहुँदा पीर परेको छ। साठी क्विन्टल आलु रोपेका सुर्माका किसानले करिब एक हजार दुई सय क्विन्टल आलु उत्पादन गरेका छन्। हालसम्म चार-पाँच सय क्विन्टल आलु मात्रै बिक्री भएको छ। बाँकी आलु अलपत्र छ।

गुड्खोरीका किसान गोरख धामीको समूहले पनि कृषि ज्ञान केन्द्रको अनुदानमा ८० क्विन्टल आलु लगाएको थियो। साउनदेखि बारीबाट निकाल्न सुरू गरेको आलु दुई महिना बजार नपाउँदै गाउँमै रोकिएको छ। असोजदेखि बिक्री सुरू गरिएको आलु डेढ सय क्विन्टल मात्रै बिक्री भएको छ। ‘आलु बिक्रीका लागि सुरूमा त दौडधुप गर्नु परेन’, धामीले भने, ‘बजारको समस्या थिएन, सबै कृषि ज्ञान केन्द्रले नै बजार पठाइदिन्थ्यो। अहिले ज्ञान केन्द्रले पनि सकेन। आलु जस्ताको त्यस्तै थन्किएको छ।’

धामीका अनुसार हालसम्म गुड्खोरीको आलु एक सय ५० क्विन्टल बिक्री भएको छ। ‘दुई सय क्विन्टल तराईमा बजार खोज्दै डुलाइरहेका छौँ। पाँच सय क्विन्टलजति गाउँमै थन्किएको छ’, उनले भने। तलकोट गाउँपालिका वडा नं ७ का अध्यक्ष लक्ष्मण विष्टका अनुसार जिल्ला सदरमुकाम तथा नजिकका बजारमा बिक्री नभएपछि उत्पादित आलु गाउँमै रोकिएको छ।

Shivam cement

राज्यको ‘उत्पादनमुखी’ नीतिलाई समर्थन गर्दै व्यावसायिक भएका कृषक बजार नपाउँदा निरास हुँदै आएका छन्। ‘उत्पादनलाई प्रत्येक वर्ष बढाउँदै आएका कृषकले बजार नपाएपछि हामीलाई पनि असह्य भएको छ’, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले भने, ‘किसानलाई उत्पादन बढाउन जोड दियौँ तर, अहिले बजार सबै भारतीय तरकारीले ओगटेपछि हाम्रो उत्पादन रोकिएको हो।’

गत हप्तासम्म तराईका बजारमा छ्याप्छ्याप्ती बझाङी आलु अहिले गाडीमै थन्किएको छ। ‘भारतीय आलुले बजार पुरै ओगटेको छ’, ज्ञान केन्द्र प्रमुख विष्टले भने, ‘ताजा आलु भन्दै भारतीय आलुले कैलाली, कञ्चनपुर हुँदै डडेल्धुरासम्मै ओगटेको छ। यताको हाम्रो अर्गानिक आलु तराई पठाएकोसमेत गाडीमै रोकिएको छ।’

उत्पादित तरकारी बजारीकरण गर्न नसक्दा किसानलाई जवाफ दिन नसकेको उनले बताए। ‘कैलालीका पहाडी समुदायले पनि बाहिरबाट आउने तरकारीलाई प्रश्रय दिएका छन् र आफ्नै गाउँठाउँको उत्पादनलाई माया गर्नुभएन।’ उनका अनुसार अहिले कैलाली कञ्चनपुरमा भारतीय आलु ताजा भन्दै प्रतिकेजी रु ४० बिक्री भइरहेको छ।

किसानले दिनदिनै फोन गरेर बजार खोज्न आग्रह गरिरहेको केन्द्रका प्रमुख विष्टले बताए। विष्टका अनुसार बझाङबाट यो पटक एक करोड रूपैयाँ बराबरको आलु निर्यात भइसकेको छ। बाँकी सोही मूल्य बराबरको आलुले बजार नपाएको उनले बताए।

कैलाली कञ्चनपुरमा भारतबाट नयाँ आलु आएको हुँदा बझाङको अर्गानिक आलु थन्किएपछि व्यापारमा झट्का लागेको आलु जोन बझाङकी प्रमुख सविता जोशीले बताए। ‘पकेट क्षेत्रमा उत्पादित आलु पनि बिक्री भएको छैन। हाम्रै आलु पसलपसल खोज्दै भौतारिरहेको छ।’ बजारै नपाएपछि कोल्डस्टोरमा राख्नुको पनि अर्थ नभएको उनले बताए। ‘कोल्डस्टोरमा पनि बीउका लागि राखेका छौँ। यति सबै आलु कोल्डस्टोरमा राखेर पनि साध्य हुँदैन, थोरैथोरै भए पनि बिक्री हुनुपर्छ’, उनले भने।

यता सुदूरपश्चिम प्रदेशकी कृषिमन्त्री विनितादेवी चौधरीले बझाङको आलुले बजार पाउने गरी छलफल गर्ने बताए। उनले भने, ‘हामीले सबै जिल्लामा तरकारी ढुवानीका लागि खर्च दिएका छौँ। कृषकले आफ्नो मूल्य पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर यहाँ त तरकारीले पसलपसल चहार्दै बिक्री गर्नुपर्ने भयो।’

उनले अब सबै जिल्लाका कृषि प्रमुखसँग छलफल गरेर रोकिएको आलु कसरी बिक्री गर्ने, कति मूल्यमा बेच्ने भन्ने कुरा छलफल गर्ने बताए।


प्रकाशित: Dec 01, 2022| 08:18 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्