शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

स्याङ्जा- स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यस वर्ष २२ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

National life

सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ। 

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष १ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड रुपैयाँ भित्रिएको उनले बताए।

‘यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ,’ उनले भने। गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। 

‘यस वर्ष प्रतिहेक्टर ५ मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ,’ हमालले भने। स्याङ्जामा २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा छ। नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैंचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ।

Shivam cement

यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो हप्ताबाट बिक्री शुरू भएको छ। कात्तिकको दोस्रो हप्तामा प्रतिकिलो ५० रुपैयाँ तथा अहिले ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ। 

अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट ५० लाख रुपैयाँसम्म आम्दानीको दाबी गर्छन्। गत वर्ष उनले २५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

‘अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ,’ उनले भने। उनको बगैंचामा अहिले २ हजार सुन्तलाका बोट छन्। अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मशिन जडान गरी बजारीकरण गर्दै आएका छन्।

गत वर्ष सुन्तला बिक्रीबाट २ लाख आम्दानी गरेका वालिङ–२ फुटेढुंगाका लेखनाथ काफ्लेले ४ लाख आम्दानी हुने बताए। गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उनले भने, ‘गत वर्ष २ लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष ४ लाखमा ठेक्का दिइसकेको छु।’

ठेकेदारले सुन्तला बगैंचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उनले बताए। काफ्लेको सुन्तला बगैंचामा अहिले १०० बोटमा फल लागेको छ। गत वर्ष २२ लाखको सुन्तला बिक्री गरेका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताए।

गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर २२ लाख आम्दानी गरेका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ। उनको बगैंचामा अहिले ८०० सुन्तलाका बोट छन्।   -तोलाकान्त बगाले/रासस

प्रकाशित: Nov 30, 2022| 10:06 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्