शुक्रबार, जेठ २९, २०८३

धान-गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले उनले बेसारखेती गरेका छन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

तुलसीपुर- कुनै समय धानका बाला झुल्थे। गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो तर अहिले ती खेतमा बेसार फलिरहेको छ।  

National life

तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले उनले बेसारखेती गरेका छन्।

यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो ४ बिघा खेतमा बेसारखेती गरेका छन्। उनीहरू मात्रै होइन, दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन्। 

तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन्। ‘पहिले धान, गहुँ लगाउँथ्यौं, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौं,’ कृषक अधिकारीले भने, ‘तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौं।’

त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहन स्वरूप तालिम पनि प्रदान गर्‍यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन्।

Shivam cement

उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ। काँचो बेसार प्रतिकिलो ४० रुपैयाँमा खरिद गर्ने गरेको छ। अधिकारीले मात्रै ४ बिघा जग्गामा वार्षिक ६ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गरेका छन्। अधिकारी र भण्डारीजस्तै तुलसीपुरका १२० किसानले अहिले बेसारखेती गर्ने गरेका छन्। ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ। 

यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताए। ‘हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ,’ उनले भने। तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वास लगायतका किसानले यसरी खेती गर्ने गरेका छन्।

उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पुर्‍याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताए। ‘किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो,’ उनले भने, ‘यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौं, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ।’

विक्रम संवत् २०७३ सालमा स्थापना भएको उद्योग शुरूआतमा १ करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करीब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ। जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

‘बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ,’ उनले भने, ‘त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन गर्‍यौं भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौं।’

अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उनको भनाइ छ।

बेसार उद्योगबाट वार्षिक ४ करोडसम्मको कारोबार हुने गरेको छ। जसबाट ५ देखि ७ प्रतिशत फाइदा हुने गरेको उनी बताउँछन्। अहिले वार्षिक ३०० मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करीब १ हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

‘अहिले धेरै जिल्लाबाट माग पनि आएको छ,’ उनले भने, ‘त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अवस्था छ।’

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ। उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसला लगायत गरी ४२ थरि मसला समेत उत्पादन हुने गरेको छ। अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्ने समेत उनले बताए।    –दीपक बोहरा/रासस

प्रकाशित: Nov 30, 2022| 07:45 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्