शुक्रबार, जेठ २९, २०८३

१०० मेगावाट सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्ने तयारी थालेको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा १०० मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ। ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी थालेको हो।

National life

प्राधिकरणले सूचना जारी गरी प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ। प्राधिकरणको सूचनाअनुसार कम्पनीका आवेदन आगामी १४ फागुनमा खोलिनेछ। हाल प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा सौर्य बिजुली खरिद गर्दै आएको छ। 

प्रस्तावित व्यवस्थाअनुसार अब प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसामा खरिद गर्नेछ, जुन अधिकतम महसुल दर हो। प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार खुला प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्न लागिएको हो। हिउँदमा नदीमा जल सतह घट्ने र उत्पादन कम हुने भएकाले त्यसको विकल्पमा सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन। 

सौर्य ऊर्जामा लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धाका माध्यमबाट खरिद गर्न लागिएको हो। विद्युत् विकास विभागबाट हालसम्म कुल ४४ सौर्य परियोजनाले सर्वेक्षण अनुमति लिएका छन्। ती आयोजनाको क्षमता १ हजार २३९ मेगावाट छ।

त्यस्तै, कुल २१ परियोजनाले निर्माणका लागि अनुमति लिएका छन्। ती आयोजनाको क्षमता १३३ मेगावाट छ। १३ परियोजनाले सर्वेक्षणको आवेदन दिएका छन्। ती आयोजनाको क्षमता १३२ मेगावाट छ। निर्माणका लागि अनुमति माग्दै आवेदन दिएका आयोजनाको संख्या ३ छ। ती आयोजनाको क्षमता १५ मेगावाट छ।

Shivam cement

हाल निजी क्षेत्रका विभिन्न ५ परियोजनाबाट कुल २४  मेगावाट बिजुली उत्पादन भइरहेको छ। प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा छ।–रासस

प्रकाशित: Nov 29, 2022| 14:10 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्