काठमाडौं- प्रभु बैंक लिमिटेडले मेसिनबाटै बैंक खातामा रकम जम्मा गर्ने सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको नगद काउन्टरमा सशरीर उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै मेसिनबाटै नगद जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको प्रभु बैंकले जानकारी दिएको हो।
क्यास रिसाइकल मेसिन (सीआरएम) प्रविधिबाट शुक्रबारदेखि सञ्चालनमा ल्याएको बैंकको भनाइ छ। हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट यो सेवा प्रवाह सुरु भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ।
मेसिन बाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथै उक्त मेसिनमा रकम राख्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ। र, त्यसको भौचर प्रिन्ट हुन्छ। मेसिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ।
मेसिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरूको लागि मात्र उपलब्ध हुनेछ। नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)सँग आवश्यक सहकार्य गरी प्रभु बैंकबाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइने बैंकले जानकारी दिएको छ।