काठमाडौं– गीत–संगीतले आमनागरिकलाई छिट्टै प्रभावित बनाउँछ, जसको पहुँच राजनीतिमा नहुने कुरै भएन। विभिन्न राजनीतिक दलले चुनाव लक्षित प्रकाशित, प्रसारण गरिरहेका गीत–संगीतको प्रमुख उद्देश्य चुनावी प्रचार–प्रसारलाई प्रभावकारी बनाउनु र मतदाताको मत जित्नु हो। त्यसैले त ४ मंसिरको चुनावी सरगर्मीमा निस्किएका गीतले गाउँ–सहरका घरदैलो गुञ्जायमान भएका छन्। तर पछिल्लो समय चुनावी प्रयोजनका लागि सार्वजनिक भएका गीत–संगीत पार्टीका नेताको गुणगानमा केन्द्रित छन् ।
दलको घोषणापत्र नै ओझेल पर्ने गरी ल्याइएका गीतमा केवल ठूला पार्टीका नेताको महिमामण्डन भट्याइएको छ। सयौं उम्मेदवारको भीडमा ठूला भनिएका पार्टीका नेतामाथि बनाइएका गीत सुन्दा व्यक्तिपूजक चुनावी गीतजस्तो लाग्छ। पार्टीलाई छोडर नेताको मात्रै बढी बखानले जनता रिझाउन सकिएला?
अघि–अघि प्रचण्ड, पछि–पछि हामी नेपाली
गायक बद्री पंगेनी र स्मिता दाहालको संयुक्त स्वर रहेको यो चुनावी गीतले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र–२ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को महिमामण्डल गाउँछ। मोडल करिश्मा ढकाल, लोमस शर्मा र चेतन गोतामेको अभिनय रहेको यो गीतमा ‘संविधानमा संघीयता लेख्ने प्रचण्ड’ भन्दै उनको योगदानको चर्चा गरिएको छ।
प्रचण्डलाई जनताले राम्रैसँग चिन्छन्। नेपाली राजनीतिमा उनको योगदान आमजनतालाई थाहा छ। तर उनलाई देवत्वकरण गर्दै गीत सार्वजनिक भएको छ।
अघि बढ प्रचण्ड जनता साथमा छ
हाम्रो देशको भविष्य तिम्रै हातमा छ
गायक पंगेनीले गाएको यो गीतले यतिबेला चुनावी माहोललाई तताएको छ। अघिल्लो पटक नेकपा एमालेका लागि ‘मै पनि एमाले सई पनि एमाले’ गीत गाएका थिए, पंगेनीले। चुनावी प्रचार गीतमा चल्तीका लोक सर्जकहरू पंगेनीदेखि एकनारायण भण्डारीसम्म छन्। अघिल्लो स्थानीय चुनावी गीतमा देखिएका पंगेनी र भण्डारी यस पटक पनि छाएका छन्।
गर्नै पा’छैन हो गर्नै पा’छैन
प्रचण्डले चाहेजस्तो नेपाल बन्नै पा’छैन
संगीतकार संघ नेपालका अध्यक्षसमेत रहेका चेतन सापकोटाको स्वर, संगीत र अभिनय रहेको यस गीतमा प्रचण्डलाई शिरमा राखिएको छ। कसका कारण उनले गर्न पाएनन् भन्ने प्रश्न नआइरहन सक्दैन।
विष्णु खत्री र टीका पुनले गाएको, ‘मेरो आमाको भोट माओवादीलाई’ भन्ने पनि सुन्न पाइन्छ। खत्रीले गठबन्धनलाई जिताऔं बोलका गीत पनि गाएका छन्।
नेपाली राजनीतिमा सबै पार्टी नेताहरूको योगदान आमजनतालाई थाहा छ। तर चुनावी गीतमा नेतालाई नै देवत्वकरण गरी प्रशंसा र भक्तिगानका स्वरहरूले बढ्ता प्राथमिकता पाएका छन्। विकास र जनजीविकाका सवाललाई पुछारमा पारिएको छ।
‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्याप गीत पनि सार्वजनिक भएको छ। ३० मिनेट ३० सेकेन्डको गीतमा स्वर-संगीत जगत तिरुवाको छ।
यो गीतले प्रचण्ड प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेको झल्को दिन्छ। जबकि माओवादीमा प्रचण्डबाहेक अरू उम्मेदवार पनि छन्। त्यहाँ माओवादीका नाममा लड्ने थुप्रैको रगत, पसिना बगेको थियो भन्ने इतिहास छायामा परेको देखिन्छ।
गणतन्त्रमा पुग्ने सपना देख्ने प्रचण्ड
संविधानमा संघीयता लेख्ने प्रचण्ड
हिजो आफूले आलोचना गरेका संगीत र भाकाहरू अहिले भने माओवादीका लागि संकट टार्ने उपाय बनेको छ, र्याप गीत।
सहर–सहरमा ओली, गाउँ–गाउँमा ओली
सूर्यको जित हुँदै छ भोलि, आउँदै छन् केपी ओली
यो गीतको मेलोडी कुनै सिनेमाझैं लाग्छ। यस गीतले जनता जगाउने त त्यस्तै हो तर नाच्न भने हौसाउँछ। अथवा दक्षिण भारतका सिनेमाको कलाइमेक्समा मुख्य पात्रले खलपात्रसँग द्वन्द्व गर्दा पृष्ठभूमिमा बजिरहेको गीतजस्तो लाग्छ, यो गीत। ऊर्जा दिने। नाचौं–नाचौं लाग्ने। युद्धमा जाऊँ–जाऊँ लाग्ने।
ओलीबिना देशै बन्दैन भन्ने भाव पैदा गराउने यो गीतमा उनको गुणगानको बखान प्रशस्न सुन्न पाइन्छ। ओली प्रतिनिधिसभाका लागि झापा–५ का उम्मेदवार हुन् ।
हिजो आज भोलि
विकासको बोली
नेपाल र नेपालीलाई
चाहिन्छ है ओली
ओली महिमा गाइएको गीतमा उनको कार्यकालमा गरेका कामलाई भट्याइएको छ– भोट केमा सूर्यमा, जित कसको ओलीको ।
एमाले हो जनता पाल्ने
त्यसैले म सूर्यमै भोट हाल्ने
चुनावी प्रचारका लागि रामप्रसाद अवस्थी र सुनिता बुढा क्षेत्रीले गाएको गीतमा सूर्य चिह्नको गुणगान गाइएको छ।
सूर्य चिन्ह सुनौलो भोलिलाई
यो पाँच वर्ष केपी ओलीलाई
पूर्णकला बिसी र रामप्रसाद अवस्थीको संयुक्त स्वर रहेको यो गीत सुन्दा लाग्छ– एमालेबाट केवल एक जना मात्रै उम्मेदवार केपी ओली मात्र हुन्। उनले जिते पुग्छ भन्नेजस्तो लाग्छ, गीत सुन्दा।
पार्टीले चुनाव प्रचारका लागि कलाका विभिन्न विधालाई उपयोग गरेको छ। अघिल्लो चुनावमा अध्यक्ष केपी ओलीकै शब्द, संगीतमा प्रकाश सापकोटा र दीपा सापकोटाको स्वर रहेको गीत ‘सूर्यमा भोट, ड्याम कि ड्याम,’ नवराज वलीको शब्द संगीतमा कोमल वलीलगायतको स्वरमा रहेको ‘सूर्यमा भोट हालौं,’ सुजन लम्सालको शब्द, संगीतमा बद्री पंगेनी, पूर्णकला बीसीलगायतको स्वरमा रहेको ‘मेरो देशै एमाले म त यसै एमाले’ जस्ता गीत पनि आएका थिए।
नवराज पन्थको शब्दमा विमलराज क्षत्री र प्रीति आलेको स्वरमा ‘छ्याप्पै रुखमा छाप लाउनी,’ बाबुराम बोहराको शब्द संगीतमा रामजी खाण र राधिका हमालको स्वरमा ‘लोकतान्त्रिक समाजवाद’ जस्ता गीतहरू आए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै गीत सार्वजनिक भएको छ। प्रतिनिधिसभाका लागि लिङ्देन झापा–३ बाट उम्मेदवार हुन्।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रविको गुणगानमै गीत सार्वजनिक गरेको छ। चुनाव चिन्ह घन्टीमा भोट माग्दै यसपालिको चुनावमा घन्टी बजाउने, रवि लामिछाने जिन्दावादजस्ता शब्द राखेर गीत बनेको छ। रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।
आफ्नो पार्टीका उम्मेदवारलाई भोट हाल्न आह्वान गर्नुस् भन्नुसम्म त ठीकै हो तर उम्मेदवारको गुणगानै बढी गाइएको छ। अझ आफ्नो काम मात्रै ठीक, अरूको बेठीक भनेझैं आरोप–प्रत्यारोपले भरिएका छन्, चुनावी गीत। कतै प्रतिशोधको भाव जगाइएको छ त कतै प्रतिरक्षा आह्वान गरिएको छ।
दलहरूले चुनावी प्रचार–प्रसारलाई प्रभावकारी बनाउन र मतदातालाई आकर्षित गर्न गीत–संगीतको सहारा लिइएको पहिलो पटक भने होइन। नेपालको राजनीतिक पृष्ठभूमि केलाउने हो भने प्रजातन्त्र, बहुदल, लोकतन्त्र तथा गणतन्त्रको स्थापनासम्ममा साहित्य, संगीत, रंगमञ्चजस्ता कलाका सबैजसो विधाले महत्त्वपूर्ण भूमिका वहन गर्दै आएका छन्।
पञ्चायतविरुद्ध जनतालाई झकझकाउने गीत–संगीत जनयुद्धकालमा समेत उत्तिकै प्रयोग भएका थिए।
तर चुनाव केन्द्रित गरेर निकालिएका गीतमा पार्टीका ठूला नेताको गुणगान मात्रै गाएको रत्तिभर चित्त बुझेको छैन, गायक-संगीतकार जीवन शर्मालाई। उनका अनुसार ठूला भनिएका पार्टीले गीत–संगीत आफ्नै प्रशंसा गरेर निकाल्नु नेता धनी हुनु हो। उनीहरूसँग प्रशस्त पैसा हुनु हो।
गायक शर्मा लामो समय नेकपा माओवादी पार्टीमा थिए। गाउँदेखि सहरसम्मका मौलिक गीत गाएर जनतामाझ पस्किए। शर्मा भन्छन्, ‘म विगत तीन–चार वर्षदेखि कुनै पार्टीसँग नजिक छैन। म स्वतन्त्रजस्तै छु। यसरी बाहिरबाट हेर्दा चुनावी गीतमा नेताको मात्रै गुणगान गाइँदा जनताले पत्याउन छन् जस्तो लाग्दैन।’
उनका अनुसार केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय तहमा समेत पालिका समिति गठन गरेर ठूला राजनीतिक दलका गीत–संगीत प्रचार सामग्री बनाइएका छन्।‘चुनावका लागि गीत बाक्लिए तर याद गर्ने खाले आउन सकेनन्। त्यसो हो भने गीत–संगीतले चुनावको मुखमा जनतालाई घोषणापत्रमा राखेको प्रतिबद्धता नबुझ्न पनि सक्छन्,’ गायक शर्मा भन्छन्, ‘चुनावी प्रचारशैलीका लागि गीत–संगीत गज्जब माध्यम हो। तर नेता केन्द्रित गीतले आफूहरूमा पनि प्रश्न उठ्छ भन्ने हेक्का बिर्सिए।’
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा कला र कलाकारले सिर्जनाका माध्यममा देखाएको अग्रसरताका साक्षी हुन्, प्रगतिशील गीतकार तथा गायक नारायणभक्त श्रेष्ठ ‘रायन’। हाल नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपतिसमेत रहेका रायन पारिजातको नेतृत्वमा स्थापना भएको ‘राल्फा आन्दोलन’का सदस्य थिए। राल्फाले तीनताका पञ्चायती शासन व्यवस्थाविरुद्ध विरोधस्वरूप गीत तथा साहित्य सिर्जना गर्ने वामपन्थी सांस्कृतिक समूह गठन गरेको थियो।
पञ्चायतविरुद्धमा स्रष्टाहरूले गीत–संगीत तथा साहित्यमा थुप्रै सिर्जना पस्किएको स्मरण गर्दै रायनको अहिलेको चुनावी प्रचारका लागि बनेका गीतप्रति चित्त दुखाइ छ।
‘संगीतले मानिसको धारणा परिवर्तन गर्न सक्छ,’ उनले भने, ‘समाज रुपान्तरणका लागि गीत–संगीतको प्रयोग हुनुपर्छ ।’ दल विशेष बनाएर सिर्जना गरिएका गीत–संगीतले जनतालाई दिन र गर्न सकिने यथार्थ कुरा मात्र बाहिर ल्याउनुपर्ने उनको मत छ।
गाउँ–गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
निरंकुश पञ्चायती शासन ढाल्ने अभियानस्वरूप तयार गरिएको गीत थियो–त्यो। अहिले पनि यो गीतले आङै जिरिंग बनाउँछ भन्छन् रायन।
जुनसुकै पार्टी तथा दलले संगीतको दुरुपयोग गरेर मूल मर्मलाई मार्न नहुने रायनको सुझाव छ। उनले जोडे, ‘राजनीतिमा ऐतिहासिक पृष्ठभूमिअनुसार यसको प्रयोग गर्दा सचेत हुनुपर्ने समय आएको छ।’
सांस्कृतिक चेतनाले समाज परिवर्तन भई समतामूलक समाज निर्माण हुनेमा विश्वास गुमाउँदै गइरहेका छन्, आजका गीतले। अझ चुनावी गीत केवल व्यक्ति केन्द्रित भए।माओवादी निकट जनसांस्कृतिक महासंघ अध्यक्ष तथा कवि मातृका पोखरेल चुनावी प्रचार–प्रसारका नाममा व्यक्तिका भजनमण्डली गीत आउनु विकृति भएको ठान्छन्।
गीत–संगीतले राजनीतिक दलको एकोहोरो पक्षधरताभन्दा जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने थियो तर एकद्वार प्रणालीबाट गीत बनेको ठान्छन्, उनै पोखरेल। भन्छन्, ‘राजनीतिक दलले गीत–संगीत र कलालाई बुझेकै छैनन्। यसले प्रचारका नाममा जनतामा भ्रम पैदा मात्रै गर्छ। जनतालाई धोका मात्र हो।’
नेता तथा उम्मेदवारको प्रशस्ति गरेर गीत गाइनु उनीहरूले आफ्नै खर्चमा गरेको काम भन्न सकिने बताउँछन्, पोखरेल। ‘गायक, कलाकारले पारिश्रमिक लिएर गाउने, नाच्ने हो। तर नेताले यही बेला आफ्नाबारे प्रचार–प्रसार हुनुपर्छ भन्ने सोचले अगाडि बढेकाले यस्तो विकृति आयो’, उनी भन्छन्, ‘यसले राम्रो संस्कृति निर्माण गर्दैन। यस्तो गीत–संगीतले सांस्कृतिक आन्दोलनलाई सहयोग गर्दैन। गौरवगाथा र योजनाबारे बुझाउँदैन।’
‘व्यक्ति केन्द्रित पार्टी भइसकेपछि उनीहरूलाई नै केन्द्रित गरेर, आफूलाई नै भगवान् सावित गर्न महिमामण्डल चाहन्छन्। त्यो चाहे प्रचण्ड होस्, चाहे केपीजी वा देउवा।’ पछिल्लो समय मौलाएको यस्तो विकृतिलाई बौद्धिक तप्काबाटै बहसमा लैजानुपर्ने बताउँछन्, गायक शर्मा।