काठमाडौं‐ साउन सुरु भएपछि वाणिज्य बैंकहरूको निक्षेप ६१ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघका अनुसार साउनमा कर्जा प्रवाह भने ११ अर्ब रुपैयाँले वृद्धि भएको छ।
साउनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप ४३ अर्ब रुपैयाँ र कर्जा प्रवाह १४ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो हप्तादेखि कर्जा प्रवाह बढेपनि निक्षेप भने निरन्तर घटिरह्यो।
साउनको दोस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ६ अर्ब र तेस्रो साता १२ अर्ब रुपैयाँले घटेको छ। निक्षेप घट्न थालेको विषयमा बैंकर्स संघले अध्ययन गर्ने बताएको छ।
निक्षेप घटेपछि बैंकरहरूलाई तनाव उत्पन्न भएको छ। असारको अन्तिम साता वाणिज्य बैंकहरुसँग ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। तर साउनको पहिलो साता ४३ अर्ब घटेको थियो। तेस्रो साताको अन्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ।
त्यस्तै कर्जा तर्फ भने साउनको पहिलो हप्ता कर्जा घटेपनि दोस्रो र तेस्रो हप्ता भने बढेको छ। असार अन्तिममा ३७ खर्ब २१ ऋर्ब रुपैयाँ रहेको कर्जा साउनको तेस्रो सातामा आइपुग्दा ३७ खर्ब ३२ अर्ब रुपैयाँले बढेको छ।