काठमाडौं– नाबालिग जबर्जस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ।
न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि सुरु भएको बहसमा सन्दीपको पक्षमा पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी र लव मैनाली तथा अधिवक्ता सुवास पाठक, रोशनी पौड्याल र सरोज घिमिरेले बहस गरेका थिए । सरकारी वकिलको कार्यालयको तर्फबाट किशोरीको पक्षमा ७ जना वकिलले बहस गरेका थिए।
बहस सकिएसँगै न्यायाधीशहरु थुनछेक आदेशको तयारी भइरहेको र आजै थुनछेक आदेश आउने अदालत स्रोतले बताएको छ।
गएको २१ भदौमा गौशाला प्रहरी वृत्तमा एक किशोरीले आफूलाई सन्दीपले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। क्रिकेटर देव खनालमार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिएपछि सन्दीपले ५ भदौमा कफी पिउन बोलाई त्यहीँबाट जबरजस्ती नगरकोट पुर्याएर नियतवश मध्यराति काठमाडौं ल्याई गौशालास्थित काठमाडौं इन होटलमा सोही रात पटकपटक जबरजस्ती करणी गरेको आरोप ती किशोरीले लगाएकी छन्।
अनुसन्धानपछि प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार सन्दीपविरुद्धको अभियोजनपत्र अदालतमा दायर गरेको थियो।