काठमाडौं- नेपाल आर्मीले ट्राई एडभेन्चर (सीओएएस) प्रतियोगिताको पाँचौं संस्करण मंसिर ९ गते गर्ने भएको छ। आर्मी हेडक्वाटर्समा बिहीबार पत्रकार सम्मेलन गर्दै आर्मीले प्रतियोगिताबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले नागरिक र सैनिक सम्बन्ध विस्तार गर्नका लागि प्रतियोगितालाई निरन्तरता दिने बताए। उनले भने, ‘राष्ट्रिय खेलकुद र विभिन्न कारणले गर्दा हामीले असोजमा प्रतियोगिता गर्न नसकेको हो। अब मंरिसमा गर्दैछौं। यसअघिका प्रतियोतिगा भव्य र सफल रूपमा आयोजना भएका छन्।’
यसअघि आर्मीले तीन प्रतियोगिता राष्ट्रिय स्तरको गरेको थियो भने पछिल्ला दुई प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको गर्दै आइरहेको छ। यसअघिको संस्करणमा सात देशको सहभागीता रहेको थियो भने प्रतियोगिताको तेस्रो संस्करणमा आठ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ।
प्रतियोतिगाको लागि नेपाली खेलाडी छनोट गरिने छ भने विदेशी टिम भने सिँधै सहभागी बन्ने गरेको आर्मीका सेनानी राजिव चन्दले बताए। उनका अनुसार अब मंसिर १ देखि तीन गतेसम्म नेपाली खेलाडीको छनोट हुनेछ। टिम चार जनाको भए पनि महिला र पुरुषको संख्या नतोकिएको चन्दले बताए । यो प्रतियोगितामा चार जानको एउटा टिम हुनेछ।
‘नेपालका ३३ टिमले दर्ता गरिसकेका छन्। हाम्रो लक्ष्य भनेको २५ टिम राख्ने भन्ने हो। नेपाली खेलाडीको सन्दर्भमा हामी खेलाडी छनोट गरेर प्रतियोगितामा सहभागी गराउनेछौं,’ सेनानी राजिवले भने, ‘चार जनाभित्र महिला र महिलाको संख्या जति भए पनि फरक पर्दैन। चार जना चाहिँ पुग्नुपर्यो।’
पहिले दौड (६.७ किमी), साइक्लिङ र र्याफ्टिङ(११ किमी) गरि कुल ४३ दशमलव ७ किमी दुरी जुन टिमले पहिले पार गर्छ त्यो टिम नै विजेता हुनेछ। त्यसका लागि ६ किलोमिटर यात्रा भने हाइवेमा हुने चन्दले बताए।
प्रतियोगितामा सुरक्षाका लागि एम्बुलेन्स, मेडिकल टिम ठाउँठाउँमा हुनेछ भने अति सम्बेदनसिल अवस्था आइपरेमा आर्मीको हेलिकोप्टरसमेत प्रयोग गरिनेछ। प्रतियोगितामा माल्दिभ्स, भारत, बंगदेश, पाकिस्तान, श्रीलंका, इजरायल, अमेरिका, युके र चीनलाई निमन्त्रणा पठाइएकोमा युकेबाट कन्फर्मेसन आइसकेको छ।
दर्ता शुल्क नराखिएको प्रतियोगितामा भारतबाट राष्ट्रिय स्तरका तीन टिमले नाम रजिस्टर्ड गराइसकेको आयोजकले जानकारी दिएको छ। विजेता टिमले दुई लाख, उपविजेताले डेढ लाख र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने आर्मीले जानकारी दिएको हो। चौथो र पाँचौं हुने टिमले पनि नगद पुरस्कार पाउनेछन्।