तनहुँ- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र तनहुँ आइपुगेको छ। निर्वाचन आयोगले तनहुँका लागि मतपत्र बुधबार जिल्ला ल्याइपुर्याएको हो।
जिल्लाका लागि पाँच लाख ४८ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। तनहुँ क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फको मतपत्र र आवश्यक सबै सामग्री जिल्ला आइपुगेको उनले बताए। क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई लाख ७४ हजार र २ को लागि दुई लाख ७६ हजार थान मतपत्र आइपुगेको छ।
क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ। सोही प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेशसभा (२) का लागि ६३ हजार मतपत्र आएको छ। क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ। यस प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेश ९२० का लागि ६२ हजार मतपत्र आइपुगेको छ।
मतदाता भन्दा पाँच प्रतिशत बढी मतपत्र प्राप्त भएको निर्वाचन अधिकारी ढकालले बताए। मतपत्र च्यातिने र कुनै मतपत्र बिग्रिएको हुन सक्ने भएकाले पाँच प्रतिशत बढी मतपत्र आएको उनले जानकारी दिए।
समानुपातिक मतपत्र भने जिल्लामा आइसकेको छ। समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ।