काठमाडौं– नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
आज प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलले बहस गरेका छन्। उनको पक्षमा बहस गर्नेहरु चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ता हुन्। सन्दीपको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सविता भण्डारी बराल र रमणकुमार श्रेष्ठ तथा अधिवक्ताहरु सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले बहस गरेका थिए।
पीडित नाबालिगको पक्षबाट भने सात जना वकिलले हिजो बुधबार नै बहस गरिसकेका छन्। उनको पक्षमा चार जना सरकारी वकिल र तीन जना अन्य वकिलले बहस गरेका थिए। पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए।
आजको इजलाशले भोलि शुक्रबार जवाफी बहस गर्न सरकारी वकिललाई बिहान साढे १० बजे बोलाएको छ।
सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको हो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।
सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको हो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।
सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को घ अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।
उक्त उपदफाको घ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।