शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • किशोरी नाबालिग नभएको पुष्टि गर्न किन बल गरिरहेका छन् सन्दीपका वकिल?

किशोरी नाबालिग नभएको पुष्टि गर्न किन बल गरिरहेका छन् सन्दीपका वकिल?

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।
 |  बिहीबार, कात्तिक १७, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं– ‘म धेरैबेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहीँ ठिक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन्। मैले मेरो मोबाइलमा बिहानको ६ बजेको अलार्म लगाई कुराकानी गर्र्दागर्दै कुर्सीमा निदाएँ। बिहान ६ बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ। म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी ब्रेकफास्टमा कही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं।’

triton college

बलात्कार आरोपमा पक्राउ परेपछि क्रिकेटर सन्दीप लामिछानेले प्रहरीसामु दिएको बयान  हो यो। त्यो रात होटलमा किशोरी र आफू सँगै बसे पनि शारीरिक सम्बन्ध नभएको दाबी उनले गरेका छन्। किशोरीकै जोडबलमा नगरकोट घुम्न गएको, किशोरीले नगरकोटमै बस्न आग्रह गरे पनि आफूले कर गरेर काठमाडौं फर्किएको र किशोरीको होस्टल बन्द भइसकेकाले राति सँगै होटलमा बस्न परेको दाबी उनको छ। जबरजस्ती करणी नभएको दाबी गर्दैगर्दा उनले किशोरीको उमेरबारे पनि बोलेका छन्। किशोरी नाबालिग नभएको दाबी सन्दीपको छ। बयानमा उनले भनेका छन्, ‘कुराकानीकै क्रममा निज आफैंले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमाबुबाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिइन्।’

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको। 

सन्दीपको कानुनी सल्लाहकार भएर काम गरेकी अधिवक्ता सुधा रिजालले म्याद थप गराउन पहिलोपटक सन्दीपलाई अदालत लगिएको दिन नै सञ्चारकर्मीसँग किशोरी नाबालिग नभएको दाबी गरेकी थिइन्। बलात्कार आरोपमा २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई पहिलोपटक म्याद थपका लागि प्रहरीले त्यसको तीन दिनपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। सोही दिन सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रिजालले सन्दीपको मुद्दा आफूले सुरुदेखि हेरेको दाबी गर्दै किशोरीको नाममा दुईवटा जन्मदर्ता भएको र उनी नाबालिग नभएको प्रमाण आफूसँग भएको बताइन्।

सन्दीपलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिँदै प्रहरी।
सोही अभिव्यक्तिका कारण उनी विवादमा पनि तानिइन्। उक्त अभिव्यक्तिका कारण विवाद उत्पन्न भएपछि सन्दीपको परिवारले उनलाई आफ्नो शुल्क लिएर बाहिरिन अनुरोध गरेको थियो। सन्दीपले पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठसहित वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी तथा अधिवक्ता मुरारी सापकोटा, सरोज घिमिरे र रोशनी पौड्यालको टिम बनाएका छन्। बुधबारदेखि सुरु भएको बहसमा पहिलो दिन घिमिरे र पौड्यालले सन्दीपको पक्षमा बहस गरे। सन्दीपले आफू निर्दोष भएको र करणी नगरेको दाबी गरिरहेका बेला पहिलो दिनको बहस आरोप खण्डनभन्दा किशोरी नाबालिग हुन् वा बालिग भन्नेमै केन्द्रित रह्यो। सन्दीपका वकिलहरुले किशोरी नाबालिग नभएको जिकिर गर्दै धरौटीमा रिहा गर्नुपर्ने माग गरे।

Metro Mart
vianet

सोमबार सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा किशोरी १७ वर्ष २ महिना १८ दिन पुगेको दाबी गरिएकोमा बुधबारको बहसमा सन्दीपका वकिलले किशोरीको उमेर १८ वर्ष पूरा भएको दाबी गरे। किशोरीका दुइटा जन्मदर्ता भएको र विद्यालयमा किशोरीले पेश गरेको जन्मदर्ताअनुसार उनको जन्ममिति २०६१ असार १८ गते भएको दाबी सन्दीपका वकिलको छ।

किशोरी नाबालिग नभएको पुष्टि गर्न किन जोड गरिरहेका छन् सन्दीपका वकिल?
गएको २१ भदौमा गौशाला प्रहरी वृत्तमा एक किशोरीले आफूलाई सन्दीपले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। क्रिकेटर देव खनालमार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिएपछि सन्दीपले ५ भदौमा कफी पिउन बोलाई त्यहीँबाट जबरजस्ती नगरकोट पुर्याएर नियतवश मध्यराति काठमाडौं ल्याई गौशालास्थित काठमाडौं इन होटलमा सोही रात पटकपटक जबरजस्ती करणी गरेको आरोप ती किशोरीले लगाएकी छन्।

‘अन्दाजी १२ः२५ बजेतिर म ब्युँझिँदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाइन्ट खोली आफ्नो पाइन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो इच्छाविपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा विर्य झारी आफू बाथरुमतर्फ गई पुनः बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने। त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ७ः०० बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन्,’ किशोरीले प्रहरीसँगको बयानमा भनेकी छन्।

प्रहरीले सोही बयान, सीसीटीभी फुटेज, रिस्टोर गरिएका स्न्यापच्याट म्यासेज, अन्य व्यक्तिको बयान आदिलाई प्रमाणका रुपमा पेश गरी १० देखि १२ वर्ष कैद सजाय तथा क्षतिपूर्तिको माग गरेको छ।

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।

प्रहरीले किशोरी नाबालिग रहेको पुष्टि हुने नागरिकतासहित मुद्दा चलाइरहँदा सन्दीपका वकिलले भने विद्यालय भर्नाको जन्मदर्तालाई मुख्य प्रमाणका रुपमा पेश गरी किशोरी नाबालिग रहेको पुष्टि गर्ने प्रयास गरेका छन्। सन्दीपले सम्बन्ध नै नभएको दाबी गरिरहँदा आरोप खण्डनभन्दा पर गएर कानुन व्यवसायीले नाबालिग नभएको पुष्टि गर्न गरिरहेको बललाई बलात्कारसम्बन्धी हदम्यादको कानुनसँग लडेर जोड्न सकिने कानुनविद्हरुको भनाइ छ।

मुलुकी अपराध संहिता २०७४ ले १८ वर्षमुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि त्यसलाई जबरजस्ती करणीका रुपमा व्याख्या गरेको छ। यस्तो अपराध पुष्टि भएमा अभियुक्तलाई १० देखि १२ वर्षसम्मको सजाय हुनसक्छ। तर १८ वर्षभन्दा माथिका युवतीसँग भएको सहमतिको यौन सम्बन्धलाई भने कानुनले बलात्कार मान्दैन। जसकारण सन्दीपका कानुन व्यवसायीको दाबी पुष्टि भएमा सन्दीपलाई उन्मुक्तिका लागि केही सहज हुनेछ। तर, जबरजस्ती सम्बन्ध राखेको प्रमाणित भएमा भने उनलाई कानुनी छुट्कारा हुनेछैन।

सन्दीपका कानुन व्यवसायीले उनलाई सर्वप्रथम धरौटीमा छुटाउने प्रयासस्वरुप किशोरी नाबालिग नभएको पुष्टि गर्न खोजेको हुनसक्ने विश्लेषण पूर्वन्यायाधीश प्रकाश वस्तीको छ। ‘१८ वर्षमाथिका युवतीसँग भएको सहमतिको सम्बन्धलाई कानुनले बलात्कार मान्दैन र युवतीको उमेर १८ वर्ष नाघेको पाइएमा धरौटीमा छुटेर मुद्दा लड्ने वातावरण बन्न सक्ने सम्भावना पनि हुन्छ,’ उनले भने, ‘यही कारणले सन्दीप पक्षले बलात्कार नभएको दाबी गरिरहँदा किशोरी साबालिग भएको भन्ने पनि पुष्टि गर्ने प्रयास गरेको हुनुपर्छ।’ कानुन व्यवसायीले भेटेसम्म धेरै कोणबाट मुद्दालाई अघि बढाउने भएकाले किशोरीको उमेर साबालिग प्रमाणित गर्ने प्रयास भएको उनले बताए।

प्रकाशित: Nov 03, 2022| 13:41 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।