शुक्रबार, जेठ २९, २०८३

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

झापा- झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन्। उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन्। द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए।

National life

एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन्। लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए। 

'स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ', व्यवसायी गिरीले सुनाए। 

बीबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए। तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए।

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए। फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ। अण्डा प्रतिगोटा ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे।

Shivam cement

लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ। कुखुराको सुली (मल)बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए। प्रतिबोरा रु तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए। दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ।

कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन्। उनले 'कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुन्छ', उनी भन्छन्।

कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए। त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए।

'हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ', उनले भने। रासस

प्रकाशित: Oct 30, 2022| 08:05 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्