शुक्रबार, जेठ २९, २०८३

खेतीबाली लगाउन मजदुर पाउनै मुस्किल

दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन्। खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

म्याग्दी- देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ। दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन्। खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ।

National life

खेती लगाउने, भित्र्याउने तथा गाईभैंसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेको मंगला गाउँपालिका-२ सिमका दीपक केसीले बताए। ‘काम गर्नसक्ने उमेरका मानिस विदेशमा छन्’, भैंसी फार्म सञ्चालन गरेका केसीले भने, ‘तराई, मधेसका जिल्लाबाट मजदुर बोलाएको छु।’

पशुलाई चरनका लागि लेक र बेंसी गराउने चलन अघिल्लो पुस्ताका वृद्ध थला परेपछि हराउँदै गएको छ। वृद्ध उमेरका कृषकले भेडा, बाख्रा, गाई र भैँसीका गोठ धानेका छन्। गोठाला नपाएपछि घोडा, गाई र भेडा पाल्न छोडेको धवलागिरि गाउँपालिका-३ फलियागाउँका चकबहादुर मल्लले बताए।

तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल एक तिहाइभन्दा कम १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुन्छ। जनशक्ति पाइन छाडेपछि अर्म, पर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्र्याउने चलन हराएको बेनी नगरपालिका-२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले जानकारी दिए।

‘ट्रयाक्टर, थ्रेसर आदि उपकरणको विकासले सहज भए पनि लागत उठाउनै मुस्किल छ’, उनले भने, ‘अर्मपर्म गर्ने चलन हराएपछि घरकै सदस्यले फुर्सद निकालेर खेती लगाउने र भित्र्याउने गर्न थालेका छौं।’

Shivam cement

गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै भेटिन्छन्। रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा शहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिएर झाडी र जंगलमा परिणत हुन थालेका छन्।

बस्तीदेखि टाढाका जमिनमा खेती गर्न छाडेकाले झाडी र जंगलमा परिणत भएका बेनी नगरपालिका-२ का पदमपाणि शर्माले बताए। ‘ट्रयाक्टरले जोत्न, थ्रेसरले गेडा झार्न, खेतकै छेउमा ट्रयाक्टरबाट मल, नल, पराल, धान र गहुँ ओसार्न सजिलो त भएको छ’, उनले भने, ‘टाढाको बाली लगाउन महँगो पर्ने भएपछि कतिपयले बाँझै छोडेका छन्।’

पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसंख्या १० वर्षको अवधिमा छ हजारले घटेर एक लाख सात हजार भएको छ। २५ देखि ३० हजार जनसंख्या विदेशमा छन्। खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए।

कम श्रम र लागतमा गर्न सकिने फलफूल तथा नगदे बालीको खेती गरेर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ। बाँझो जमिनमा खेती गर्नेलाई अनुदानकोसमेत व्यवस्था मिलाएको सिग्देलले जानकारी दिए।  -रासस

प्रकाशित: Oct 29, 2022| 18:05 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्