काठमाडौं- सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
बिहीबार राति इटहरी-१७, पकलीस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु हो।
मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी इनरुवा-५ दुहबी इनरुवा सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र-८ का २७ वर्षीय जीवन राउतको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौली पञ्चायतका ३५ वर्षीय गुलाब मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो।
ठक्कर दिने कार र चालक रुपन्देही सैनामैना-४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राईले बताए। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।