रामपुर (पाल्पा)- खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन। कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो। यसरी समूहमा साथीसँग स्थानीय लोकलयमा गीत गाएर देउसी र भैलो खेल्दा आन्दानुभूति हुने गरेको अनुभव सुनाउछन्, कलाकार हरि पोखरेल।
‘आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पर्न गएको छ, पहिलेका देउसी र भैलो रचनात्मक खालका हुन्थे,’ उनले भने, 'अहिले ती सिर्जनात्मक शैलीका देउसी र भैलो देख्नै पाइँदैन, युट्युब, मेमोरीकार्डबाट गीत बजाएर देउसी र भैलो खेल्दा पहिलेजसो त्यति रमाइलोपन छैन।’
पहिला तिहारमा देउसी र भैलो खेलेर सङ्कलित रकमले मठ, मन्दिर, चौतारी, खानेपानी पँधेरा, कुवा निर्माण जस्ता सामाजिक काममा लगाइन्थ्यो भने अहिले रङ रमाइलो र वनभोजलाई मात्रै केन्द्रित जस्तो गरेर भैलो उठाउने खेलो भएको कलाकार पोखरेल बताउँछन्।
यसरी गीत गाएर गाउँभरि देउसी र भैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो। कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसी र भैलो हेर्नेको गाउँमा भीड नै हुने गरेको ६१ वर्षीय रामपुर भजनकृतन मण्डलीका अध्यक्ष टीकाराम ढकालको अनुभव छ।
‘पहिलेको देउसी र भैलो तथा अहिलेको देउसी र भैलोमा धेरै फरक छ, हिजोआज त ठूला ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, यस्तो संस्कृतिले मौलिकता नै हराउन पुगेको छ, यसरी क्षणिक रमाइलोका लागि मात्रै खेलिन्छ, संस्कृतिको वास्तविक मार्मिकता नै छैन,’ उनी भन्छन्।
मौलिकपना नपाउँदा चाडबाड मनाउने हाम्रा परम्परागत संस्कृति नै बद्लिँदै गएको उनको अनुभूति छ। अबका पुस्तामा पुरानो देउसी र भैलोको कुरा एकादेशको कथा जस्तो हुने भएकाले यसलाई जोगाउन घरमूलीले नयाँ सन्ततिलाई बुझाउन र सिकाउनु जरुरी रहेको ढकालको भनाइ छ।
यस्ता गीतले देउसी र भैलोको मर्म र संस्कति बोल्दैनन्। अहिलेका देउसी र भैलोमा यिनै गीतमा सहर बजारमा युट्युबाट गीत बजाएर नाचिने गरिएको छ। पश्चिमी संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसी र भैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ।
बलिराजाका पालादेखि नै समूह बनाएर देउसी र भैलो खेल्ने चलन अझ पनि कायमै छ। तर पहिलेको तुलनामा भने हिजोआज देउसी र भैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन्। उज्यालैउज्यालोको पर्वका रुपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनी बीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो।
अहिलेको देउसी र भैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीत, पप, चलचित्र, आधुनिक गीतले स्थान ओगट्न थालेको छ। मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ। केहीले देउसी र भैलो संस्कृतिलाई रमाइलोका रुपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि। जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतको स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ।
लोपोन्मुख मखमली फूल
‘मखमली फूल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँशु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय सान्र्दभिक छ।