काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। दुवै तहको निर्वाचनका लागि ५ हजार ९०७ जना उम्मेदवारको अन्तिम नामावली आयोगले प्रकाशन गरेको हो।
दलले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ। समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि २ हजार १९९ जना उम्मेदवार छन्। प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि ६१६, मधेसका लागि ८६३, बागमतीका ७५४, गण्डकीका लागि ३४४, लुम्बिनीका ५७९, कर्णालीका लागि २ सय र सुदूरपश्चिम प्रदेशका लागि ३५२ उम्मेदवार छन्।
समानुपातिकतर्फ दलले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जनाको नाम सूचीबाट हटाइएको थियो। समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४५७ उम्मेदवार थिए।