आइतबार, असार ७, २०८३

धनुषा निर्वाचन क्षेत्र नं -४ मा त्रिपक्षीय प्रतिष्पर्धा

जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतो सहित ३१ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

धनुषा– धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिष्पर्धा उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन्।सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ। हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतो सहित ३१ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। तर मुख्य प्रतिष्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच नै हुने देखिएको छ।

National life

यसअघि धनुषा निर्वाचन क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुबीर महासेठ अहिले पनि प्रतिष्पर्धामा छन्। एमाले र जसपाबीच गठबन्धन भएपनि दुबै दलको आ–आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार उठाएको छ। विसं २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिष्पर्धा रहेको थियो। तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए।

महासेठ र महाजन दुवैले अघिल्लो चुनावका सहयात्री गुमाइसकेका छन्। त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुबै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन्। एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ। त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भएपनि दुवैको आ–आफ्नै उम्मेदवार भएपछि सत्तागठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ। जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र ९ख० मा चन्देश्वर महतोलाई उठाएको छ। एमाले र जसपाका सहमती अनुसार धनुषा–४ को प्रतिनिधिसभासँगै प्रदेशसभा (क) एमालेले लिने र (ख)जसपाले लिने उल्लेख छ। अर्कातर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा (ख) बाट टिकट दिनेगरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन। 

सत्ता गठबन्धन प्यानलसहित एकातिर छ। सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख) मा एकीकृत समाजवादीका शत्रुधन महतो उम्मेदवार छन्। वन उद्योग पर्यटन प्रदेश मन्त्री समेत रहेका शत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ। त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रबल छ। जसपाले टिकट नदिएपछि विद्रोह गरेर कांग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायण यादवका कारण जसपालाई क्षति र कांग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ। उता कांग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति कांग्रेसलाई पनि पुग्न सक्ने अर्को अनुमान छ। 

Shivam cement

यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ। धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ। उसले क्षिरेश्वरनाथ नरपालिकाका बहुसंख्यक वडा पनि जितेको छ। एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ। यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन। जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ।

यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोश्रोमा छन्। तेश्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले  स्थानीय तहमा कांग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन्। महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतीका कारण आफूले निर्वाचन जित्ने दाबी गर्छन्। उनले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरू गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे। 

उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्र गरेको, खोलाहरुमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गरे।  यता जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गरे। आफू लामोसमयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उनको दाबी छ।  -रासस

प्रकाशित: Oct 26, 2022| 20:10 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...