रामपुर (पाल्पा)– फूलैफूल, रङ, उमंग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ।
टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमंगका साथ भाइटीका मनाइन्छ। साहित्य स्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्-
सयपत्री र मखमली, घरको दायाँबायाँ
पवित्र होस् सधैँभरि, दिदीभाइको माया
माथि व्यक्त साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उनले आफ्ना शब्दमार्फत दर्शाउन खोजेका छन्।
तिम्रै साथमा रहन पाऊँ, बनी तिम्रो छाया
पवित्र होस् सधैंभरि, दिदीभाइको माया
तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र, प्रगाढ, स्नेही र पुनर्मिलन गराउनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको बुझाइ छ।
‘दाजुभाइ आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम थाँती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्’, उनले भने, ‘मलाई सबैभन्दा बढी मन पर्ने चाड तिहार हो। यस पर्वले सबैलाई उमंग, उज्यालो र आत्मीय बढाएको हुन्छ।’
निधारमा सप्तरंगी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्त्व राख्दछ। साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्छन्-
बल्छन् बत्तीहरू झिलीमिली गरी सबैका घर
दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर
आफ्ना जो घरका दिदी र बहिनी छन्, जसका जहाँ जति
आशीर्वाद लिने–दिने समयको मौका मिलेको कति
सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनी, को गरिब छुट्याउँदैनन्। धनी–गरिब सबैलाई समान रुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीका भन्छन्– साहित्यकार गौतम। उनका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्त्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउँछन्।
तिहार पर्वले दाजुभाइ, दिदीबहिनीमाझ एकअर्र्कालाई गर्ने मायाप्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई अझ फराकिलो मात्र बनाउँदैन, जन्मभूमि छाडेर कर्मभूमिमा भासिएकाहरूलाई जोड्ने माध्यम बनिरहेको छ।
‘अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ। दाजुभाइ, दिदीबहिनीले एकअर्र्कालाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ। दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्त्व बढेको पाइन्छ’, उनले भने।
रामपुर साहित्यिक प्रतिष्ठानले तिहारको सन्दर्भ पारेर आयोजना गरेको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्त्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन्। करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरंगी टीकाको महत्त्वलाई उजागर गरेका छन्।
दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ। मखमली फूलको तिहारमा धेरै महत्त्व छ। यो फूल कहिले नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन्।
नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन्।
विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब संघ– संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्त्वपूर्ण योगदान रहेको बताउँछन्, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल।
‘रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेंसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलावा चाडपर्व विशेष र समय सान्दर्भिक विशेष कार्यक्रमलाई असाध्यै चासो दिन्छन्। बेलाबेला रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य स्रष्टा जुर्मुराउन थालेको पाइएको छ’, उनले भने।
प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमित रुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ। कला र गला भएका स्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेलाबखत पोख्ने माध्यम बनेको छ। प्रतिष्ठानले घुम्ती रुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गरिरहेको छ। सुशीला रेग्मी/रासस