काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भइरहेको शान्ति–सुरक्षाको तयारीबारे आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग छलफल गरेको हो।
आयोगले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतसँग छलफल गरेको हो।
छलफलमा आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।
सुरक्षा निकायका प्रमुख र प्रतिनिधिले शान्ति–सुरक्षाको वर्तमान अवस्था, विगत निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीबारे जानकारी गराएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताए।