काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन एक महिना बाँकी रहेको छ। निर्वाचन तयारीका लागि निर्वाचन आयोग र सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।
नेपालको संविधानले प्रतिनिधिसभा सदस्य २७५ मध्ये १६५ र प्रदेशसभा सदस्य ५५० मध्ये ३३० स्थान (कुल सदस्य संख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ। अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।
आगामी ४ मंसिरमा हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई ३ मंसिर २०७९ सम्म १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन्।
निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। यसमा ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष तथा १८५ अन्य रहेका छन्। देशभर कुल १० हजार ८९१ र २२ हजार २२६ मतदानस्थल तोकिएको छ।–रासस