शनिबार, साउन १२, २०८१

सप्तरी–२ मा उपेन्द्रलाई राउत र ठाकुरले टक्कर दिँदा प्रतिष्पर्धा रोचक

जनमत पार्टी यहाँ कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छ। अझ यादव र डा. राउत दुवैको घर यसै क्षेत्र अन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ। सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ निकै चासो र चर्चामा छ अहिले। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा मधेशको राजनीति ‘होल्ड’ गर्ने दुई पार्टीका राष्ट्रिय अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रिएका छन्। यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश (जेपी) ठाकुर चुनावी मैदानमा छन्।

triton college

यो क्षेत्रमा यिनै उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। ठाकुर सत्ता गठन्धनबाट उम्मेदवार छन्। विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार छन्। यादव यसै क्षेत्रका निवर्तमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जनमत पार्टीबाट राष्ट्रिय अध्यक्ष सिके राउत पहिलो पल्ट चुनावी मैदानमा छन्। जनमत पार्टी यहाँ कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छ। अझ यादव र डा. राउत दुवैको घर यसै क्षेत्र अन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ। सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ।

जसपा नेताहरुको जित निकाल्ने दाबी 
उपेन्द्र यादवले पाँच वर्षको अवधिमा सो क्षेत्रमा जति काम गरे त्यति काम विगतमा कहिल्यै पनि नभएको जसपाका नेताहरुको दाबी छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको पूर्वाधार संरचना निर्माण, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत थुप्रै काम भएको जसपाको दाबी छ। यी कामहरु आफूले गरेको भन्दै उपेन्द्र यादवले सामाजिक सञ्जालमा समेत प्रचार गरेका थिए। त्यस्तै सडक स्तरोन्नतिमा उपेन्द्र यादवले ऐतिहासिक काम गरेको पनि अध्यक्ष यादवले फेसबुकमा उल्लेख गरेका छन्। राजविराज लगायत विभिन्न ठाउँमा पक्की सडक निर्माण उनकै पहलमा भएकाले अध्यक्ष उपेन्द्र यादवले एक्लै पनि चुनाव जित्ने अवस्थामा रहेको जसपाका नेताहरुको दाबी छ।

मनोनयन दर्ता गरेपछि अध्यक्ष यादवले पहिचानसहितको संघीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायप्राप्तिका लागि, विभेद र असमानता अन्त्यका लागि, प्रगतिशील र विकसित समृद्ध समाज निर्माणका लागि चुनावी अभियानबाट अपेक्षाअनुरुप प्रोत्साहन र ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका  थिए। विचार, सिद्धान्तमा सहमति, असमहति तथा सिटको तालमेल फरक विषय भएको भन्दै यादवले चुनावी तालमेलको कुराले जसपाको अभियानमा फरक नपर्ने बताए। तालमेल गठबन्धन हुनु प्रजातन्त्रको सुन्दरता भएको र सकारात्मक ढंगले लिनुपर्ने उनको तर्क थियो।

सिके राउत पक्षको दाबी 
सप्तरी–२ का मतदाताले उपेन्द्र यादवको विकल्पका रूपमा सिके राउत पाएको राउतले जित निकाल्ने जनमत पार्टीका नेताहरुको दाबी छ। पहिलो पटक चुनाव लड्न लागेका राउतले बनाएको बुद्धिजिवीको पहिचानले भने यादवलाई सकस पार्ने उनीहरुको भनाइ छ। अमेरिकामा पढेलेखेका राउत मधेशलाई छुट्टै देश बनाउने अभियानबाट पछि हटेर पहिलोपटक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा छन्। राउतले बनाएको व्यक्तित्वसँग यादवले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। अर्को सिके राउत पक्षका नेता कार्यकर्ताले राउतलाई शान्तिपूर्ण बाटोमा एमाले नेतृत्वको सरकारले ल्याएका कारण एमालेको मत पनि उपेन्द्रलाई भन्दा आफूहरुलाई आउने बताउँछन्।

Metro Mart
vianet

ck raut
सिके राउत।
जनमत पार्टीका नेता सूर्यदेव यादवले सप्तरीका जनता पूर्वाग्रही नभए सीके राउतको जित सुनिश्चित भएको दाबी गरे। उनले सीके राउत बौद्धिक व्यक्तित्व हुनुको साथै उनीसँग विकास र रोजगारका लागि भिजन रहेकाले उनले जित्ने तर्क गरे। काठमाडौंमा बालेन शाह जिते जसरी सीके राउतले पनि जित्ने उनको दाबी छ। राउतले मनोनयनपछि  भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण, सुशासन, राजनीतिक रुपमा स्वायत्तताको एजेण्डा लिएर चुनावमा होमिएको प्रतिक्रिया दिएका थिए। उनले आफ्ना कार्यकर्ताले हालसम्म सरकारमा सहभागी हुने अवसर नपाएको भन्दै भ्रष्टाचारमा लिप्त भएमा शून्य सहनशिलताका आधारमा कारबाही गरिने प्रतिबद्धता जनाएका थिए।

उनले निर्वाचन क्षेत्र बदल्दै जनतालाई झुक्याउँदै आएका उपेन्द्र यादव बाहिरबाट आएका फिरंगी उम्मेदवार भएको तर आफू सप्तरीको माटो, पानीमा हुर्केर बढेको, पढेको र हालसम्म बसेको उनले बताए। संघीयता पक्षधर भनेर दाबी गर्नेले संघीयता र गणतन्त्र विरोधीसँग गठबन्धन गरेर जनताको सेवा नहुने उनको दाबी थियो। एमालेले मेची–महाकाली अभियानको क्रममा २०७३ फागुन २३ गते अध्यक्ष केपी ओलीको उपस्थितिमा भइरहेको आमसभा विथोल्न पुगेका मधेशवादी दलका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा ५ जनाको ज्यान गएको थियो। त्यही ओली नेतृत्वको एमालेसँग जसपाले गठबन्धन गरेको भन्दै विपक्षीले त्यसलाई पनि ठूलो अस्त्रको रुपमा प्रयोग गरिरहेका छन्। एमालेको यो अभियान बिथोल्ने अभियानको नेतृत्व तत्कालिन संघीय समाजवादी फोरमले गरेको थियो। यो अवस्थामा उपेन्द्रलाई एमालेका धेरै नेता–कार्यकर्ताले भोट नहाल्ने अवस्था रहेको जनमत पार्टीका नेता कार्यकर्ताको बुझाइ छ। 

उपेन्द्र–सिके सम्बन्ध 
२०७५ भदौ ७ गते बर्दियामा पुगेका उपेन्द्र यादवलाई सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाए। कालो झण्डा देखाउने क्रममा प्रहरीले राम मनोहर यादवलाई पक्राउ गर्यो। थुनामा रहेका बेला राममनोहर बिरामी परे। उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भयो। सिके राउतले यादवले नै राममनोहरलाई मार्न लगाएको आरोप पनि लगाए। सो घटनापछि उनीहरुको सम्बन्धमा दरार आएको थियो। राउत र यादवको सम्बन्धमा दरार आउनुको कारण राममनोहरको मृत्यु बाहिर देखिए पनि मधेशमा आफनो वर्चस्व जमाउनु थियो।

यादवको पार्टी मधेश आन्दोलनबाट स्थापित भएको पार्टी हो। त्यसलाई साइजमा नराखेसम्म मधेशमा अर्को पार्टीको ‘दाल गल्दैन’ भन्ने बुझेका राउतले उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाउन थालेका हुन्। अर्कोतर्फ यादव भने सिके राउत मधेशमा स्थापित हुँदै गए आफ्नो ‘पत्ता कट्ने’ त्रासमा देखिन्छन्। जसका कारण उनीहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन्। त्यसैको उपज जनमत पार्टीले किसानको माग उठाएर आन्दोलनमा होमियो। जनमत पार्टीको उद्देश्य किसान नभएर मधेशमा ‘स्पेस खोज्नु’ थियो, त्यो पनि उपेन्द्रको पार्टीका विरुद्ध। जसले गर्दा जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीका विरुद्ध किसान आन्दोलन थाल्यो। जतिबेला भारतमा समेत केन्द्र सरकारका विरुद्धमा किसान आन्दोलन चलिरहेको थियो। त्यसैगरी मधेश सरकारका विरुद्धमा किसान आन्दोलन गरेर उपेन्द्रको पार्टीलाई साइजमा राख्न चाहन्थे राउत। यही कारणले उपेन्द्र र सिके राउतको सम्बन्धमा दरार रहेको मधेश राजनीतिका विश्लेषकहरुले बताउने गरेका छन्। 

ठाकुरको वर्चश्व

सप्तरीको यो निर्वाचन क्षेत्र लोसपाबाट यसपटक उम्मेदवार बनेका जयप्रकाश ठाकुरको प्रभाव क्षेत्र हो। २०७४ को निर्वाचनमा तत्कालिन राजपाले उपेन्द्र यादवलाई सहयोग गरेपछि टिकट नपाएर स्वतन्त्र उठेरै ठाकुरले ९ हजार ४५९ मत ल्याएका थिए। व्यक्तिगत मत राम्रो भएका ठाकुरलाई यसपटक गठबन्धनको साथ छ। त्यसैले यादवका लागि ठाकुरसँगको प्रतिस्पर्धा चानचुने नहुने जानकारहरुले बताएका छन्।

जसपाबाट हालै मात्र लोसपामा आएका नेता शम्भु यादवले सत्ता गठबन्धनका साझा उम्मेदवार जेपी ठाकुरको जित सुनिश्चित भएको दाबी गर्छन्। उपेन्द्रले अहिले विकासको गलत हल्ला गरेको उनको भनाइ छ। उपेन्द्रले प्रचार गरेका सबै काम उनी सरकारमा आउनुभन्दा पहिले सबैको टेन्डर भइसकेको र उनले शिलान्यास मात्र गरेको नेता शम्भु यादवले दाबी गरे। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन समेत उपेन्द्रको कुनै योगदान नभएको उनको भनाइ छ। लोसपाका नेता लक्ष्मणलाल कर्ण १८ दिनको लागि मन्त्री भएको बेला सो प्रतिष्ठानका लागि जमिनको लालपुर्जा प्राप्त भएको नेता यादवले बताए। राजविराज नगरपालिकाका पूर्व मेयर रहेका यादवले राजविराजमा जति पनि सडकहरू बनेका छन्, ती सबै आफू मेयर भएका बेलामा निर्माण भएका दाबी गरे। 

२०७४ र स्थानीय तहको मतको अवस्था 
सप्तरी–२ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन्। १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठवटा वडा रहेको तिलाठी गाउँपालिका कांग्रेसले जितेको छ। लोसपाले दुईटा गाउँपालिका जितेको छ। सातवटा वडा भएको छिन्नमस्ता गाउँपालिका र ६ वटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ। 

सो क्षेत्रमा जम्मा ३७ वटा वडा छन्। त्यहाँको स्थानीय तहको चुनावमा सबभन्दा बढी मत जसपाले प्राप्त गरेको छ भने सबैभन्दा कम मत नेकपा एकीकृत समाजवादी पार्टीले प्राप्त गरेको छ। सो क्षेत्रमा १३ वटा वडामा जितसहित जसपाले १५ हजार ४७८ मत ल्याएको छ भने दुईवटा वडासहित कांग्रेसले १३ हजार ३८५ मत ल्याएको छ। ६ वटा वडासहित लोसपाले १३ हजार ६४८ ल्याउँदा सातवटा वडासहित माओवादीले ७ हजार ७७६, तीनवटा वडासहित एमालेले ३ हजार ७९३, तीनवटा वडासहित जनमत पार्टीले ३ हजार २७१, दुईवटा वडासहित नेकपा (एस) ले दुई हजार १८३ मत ल्याएको छ। 

संसद्‍मा उपेन्द्र यादव।
जसपा–एमाले गठबन्धनको मत जोड्दा १९ हजार २७१ मत हुन्छ। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, लोसपा र नेकपा (एस) को मत जोड्दा ३६ हजार ९९२ मत पुग्छ। लगभग जसपा–एमाले गठबन्धनभन्दा दोब्बर बढी मत सत्ता गठबन्धनले स्थानीय तहमा ल्याएको छ। 

२०७४ को प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट नै उपेन्द्र यादव विजयी बनेका थिए। उनले २१ हजार ६२० मत ल्याएका थिए। त्यतिबेला यादवले तत्कालीन राजपा (लोसपा) सँग गठबन्धन गरेका थिए। त्यतिबेला बागी उम्मेदवारी दिएका जेपी ठाकुरले ९ हजार ४५९ मत ल्याएका थिए। माओवादी केन्द्रले सुरुमा आफ्नो उम्मेदवार उठाएको थियो। तर पछि उपेन्द्र यादव र प्रचण्डबीच सहमति हुँदा माओवादी केन्द्रले उमेश यादवलाई उम्मेदवारी फिर्ता लिन लगाएको थियो। तर उनले त्यसलाई अस्वीकार गरेका थिए। 

यादवलाई माओवादी केन्द्रका अध्यक्ष दाहालको पनि समर्थन थियो। तैपनि उमेश यादवले ११ हजार ५८० मत ल्याएर दोस्रो भएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो। २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरमसँग नेपाली कांग्रेसको गठबन्धन नभए पनि आन्तरिक रूपमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उपेन्द्र यादवलाई नै सहयोग गरेका थिए। कांग्रेसका कमजोर उम्मेदवार त्यहाँ खडा गरेको स्थानीय नेताहरू बताउँछन्। कांग्रेसका सकलदेव सुतियारले एक हजार ८४० मत ल्याएका थिए भने नेकपा मालेले एक हजारभन्दा बढी मत ल्याएको थियो।

प्रकाशित: Oct 21, 2022| 16:40 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...