मंगलबार, वैशाख २५, २०८१

शताब्दी बाँचेका जोशी कयौं शताब्दी मर्ने छैनन्

जोशीलाई नेपाल भाषाका विद्वान् कहलाइने गरिए पनि समग्र लोक–साहित्य र संस्कृतिकै मियो थिए। १०३ वटा वर्षको हिउँद र बर्खा झेलेका जोशीले अर्थपूर्ण जीवन बाँचे। सबैलाई रुवाएर एक्लै गए।
 |  आइतबार, असोज ३०, २०७९

राज सरगम

राज सरगम

आइतबार, असोज ३०, २०७९

काठमाडौं– मंसिर २०७४ को पारिलो घाम। नेपाल बार एसोसिएसन भवनको माथिल्लो हलमा भइरहेको पुरस्कार हस्तान्तरण कार्यक्रममा पुगेको थिएँ, जहाँ प्रमुख अतिथि थिए, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी। उनले एक किताबमाथि एक घन्टा लामो बोलेका थिए। यही मेसोमा उनीसँगको भेट जुरेको थियो। त्यही चिनजान गरें, फोटो खिचें। 

triton college

त्यसको ठीक ५ वर्षपछि अर्थात् २०७८ भदौमा उनको आत्मकथा विमोचन थियो, पाटन दरबार संग्रहालयभित्र। ती दिनताका उनको नियमित स्वस्थ्य परीक्षण चलिरहेको थियो। पत्रकार तथा लेखक गिरीश गिरीले लेखेको उनको आत्मकथा ‘सत्यमोहन’ आफ्नै हातले विमोचन गरेका थिए। किताब लिएर मैले पनि हस्ताक्षरका लागि लाइन लागें। मुस्किलले पालो पाएँ। 

‘मलाई बिर्सिनुभयो होला है’, हस्ताक्षर गर्ने क्रममा जोशीलाई विस्तारै सोधेको थिएँ। जोशीले मलाई किताब हस्ताक्षर नगरी गहिरो गरी नियालेका थिए। ‘हामी बार एसोसिएसनमा भेटेका थियौं। मैले बिर्सिएको छैन,’ यति भन्दै उनले किताबमा हस्ताक्षर गरे। 

कतिपयले भेटेका मानिसलाई बुढेसकालका दिनमा सजिलै बिर्सिन्छन्। कतिपयलाई भने भेटका सिलसिला सुनाएपछि मात्रै सम्झिने हुन्छन्। तर जोशी घन्टौं गफिएर छुटेका मानिसलाई कहिल्यै बिर्सिंदैनथे। सय वर्षपछि पनि उनको स्मरण शक्ति घटेको थिएन। ताजा भएझैं लाग्यो। 

जोशीलाई नेपाल भाषाका विद्वान् कहलाइने गरिए पनि समग्र लोक–साहित्य र संस्कृतिकै मियो थिए। १०३ वटा वर्षको हिउँद र बर्खा झेलेका जोशीले अर्थपूर्ण जीवन बाँचे। सबैलाई रुवाएर एक्लै गए। 

१९७७ मा बखुम्बहालमा जन्मिएका संस्कृतविद् जोशीले आइतबार बिहान ७ बजेर ९ मिनेटमा भौतिक शरीर त्यागे। १०३ वटा वर्षको हिउँद र बर्खा झेलेका जोशीले अर्थपूर्ण जीवन बाँचे। सबैलाई रुवाएर एक्लै गए। 

corrent noodles
Metro Mart

शताब्दी लामो आयु बाँचेका जोशीले आफ्नो जीवनलाई निकै सिर्जनात्मक बनाए। जीवनको कर्मलाई असामान्य ढंगले ऊर्जामय बनाए, जसको योगदान नयाँ र पुराना दुवै पुस्ताले कहिल्यै बिर्सिन सक्ने छैनन्।

ऊर्जावान जीवन बाँचेको जोशी मार्ग निर्देशन गर्थे। जोशीको हरेक कुरा भरिला, पोटिला हुन्थे। उनी ज्ञानको सागर हुन्, जसलाई मिति र समय मात्रै नभएर सत्यतथ्य निकट घटनाको सिलसिला बताउन सक्थे। उनको व्यक्तित्व निकै खारिएको थियो। सुन्न र बुझ्न चाहने व्यक्तिका लागि जोशी अवस्मरणीय मुहान थिए। 

सत्यमोहन पुस्तक आउनु अगाडिदेखि नै बिरामी थिए, उनी। स्वास्थ्यमा उतारचढावको एक वर्ष बितेको थियो। उनी थाकेका थिएनन्, तर सधैंका लागि समयले थकाइदियो । कहिल्यै नफर्किने गरी उनलाई लगिदियो दैवले। जसरी जीवनमा उनले शताब्दी उमेर बाँचे, कला, साहित्य, संस्कृति र नेपाली समाजमा अबका कयौ शताब्दीसम्म बाँच्नेछन्।  

जोशी खोज अनुसन्धानमा बाँचे 
ललितपुरको पाटन छेउको बखम्बहाल वरपर खाइखेली हुर्किएका जोशी बाल्यकालदेखि नै सिर्जनात्मक थिए। उनै जोशी ३८ वर्षको उमेरमा अर्थात् २०१५ मा पुरातत्त्व विभागको निर्देशक भए। लोप हुन लागेको धेरै पुरातत्त्व खोजे। अनुसन्धान गरे। 

जोशीले आफ्नो आत्माकथा ‘सत्यमोहन’मा एउटा प्रसंग खोतलेका छन्–

२०१६ मा लाजिम्पाटको धोबीचौरमा रहेको विष्णु विक्रान्तको मूर्तिलाई पुरातत्त्व विभागमा नियुक्त हुँदा विभागीय सहकर्मी जनकलाल शर्माको सहयोगमा त्यो मूर्ति अपहरण गरे, जोशीले। अथवा त्यो मूर्ति अपहरण शैलीमा उनले रातारात उठाए। हाल छाउनी संग्रहालयमा राखिएको त्यो मूर्ति चोरी हुन सक्छ भन्ने लागेर त्यसो गरिएको रहेछ। मूर्तिकै संरक्षणका लागि अपहरण गरेका थिए, उनले।   

जोशी अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति हुन्। 

नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन्। नेपाली कलाकार चीनमा पुगेर ठूलो काम गरेको कुरा मात्र सुनेका सत्यमोहनले चीन बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन, अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरेका थिए। त्यसैगरी सत्यमोहनकै पहलमा लिच्छविकालीन राजा मानदेवका धेरै कुरा बाहिर आए। उनले लेखेको पुस्तककै आधारमा नेपाली इतिहासमा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाको रूपमा गणना गरिएको थियो।

अनुसन्धानमा आधारित संस्कृतिविद् जोशीको कृति कलाकार अरनिको (२०४४ साल) को अंग्रेजी अनुवादसमेत गरेकी भाषाशास्त्री डा. ज्योति तुलाधरले संस्कृतिविद् जोशीसँग आफ्नो तीसौं वर्षदेखि चिनारी रहेको प्रसंग कोट्याउँदै भनिन्, ‘उहाँलाई नेपाल भाषाका विद्वान् मान्ने गरेका छौं तर उहाँ समग्र लोक–साहित्य र संस्कृतिकै मियो हुनुहुन्थ्यो।’

उनले लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्रा खोज गरे। तिब्बतका लागि नेपालले मुद्रा बनाउने जिम्मा लिएको र त्यसबाट नेपालले मनग्गे आम्दानी गरेका कुरा पनि उनले नै पत्ता लगाएका थिए। यसैको परिणाम ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रो पटक २०१७ मा मदन पुरस्कार जितेका थिए। 

सत्यमोहनले रेडियो पेकिङ चीनमा ६ वर्ष बिताए। नेपाली भाषामा समाचार प्रसारण गर्ने र  चिनियाँलाई नेपाली भाषा सिकाउने काम गरे। चीनका केही साहित्यिक कृति नेपालीमा उल्था गरे। उनले नेपाली र नेवारी भाषामा सम्पादन गरेका, संकलन गरेका र लेखेका सबै पुस्तकको संख्या जोड्दा ६० नाघ्छ।

जोशी लोक–संस्कृतिमा बाँचे 

के खायो के लायो होला 

वनको जुरेली चरीले

चरीको के छ र घर 

रात काट्यो डालीमा बसेर

जोशीको आत्मकथा ‘सत्यमोहन’ कृतिको–‘म जे छु, जसो छु–त्यही जुरेली चरीको देन हो’ शीर्षकमा लेखिएको गीत हो, यो। २००१ देखि तनहुँ र लमजुङतिर सरकारी कामले खटिँदा उनले फुर्सद क्षणमा यस्ता थुप्रै भाका संकलन गरे। जोशी आफ्नो पहिचानको उत्पत्ति यसैलाई ठान्थे। 

उनले तनहुँ, लमजुङ र थोरै कास्कीका भेगबाट संकलन गरेर ल्याइएका गीतको खोजी गरे। जुरेली चरालाई बुझ्ने कोसिस गरे। कहिले, कसले रच्यो होला भनेर उनले खोजीनीति गरे। गीतमा भेटिएका दार्शनिकदेखि आध्यात्मिक विषयवस्तुलाई केलाए। 

निरंकुश जहानियाँ राणा शासन, २००७ को प्रजातन्त्र, पञ्चायत, २०४६/०४७ को आन्दोलन, दस वर्षे सशस्त्र माओवादी द्वन्द्व, राजतन्त्रको पतन र गणतान्त्रिक नेपालको अभ्युदयसमेत देखेका जोशीले एउटा युगभित्र कयौं भूमिका बाँचे।

उनी आफ्नो आत्मकथामा लेख्छन्– त्यतिबेलासम्म कसैले पनि यसलाई लोकगीत भन्दैन थिए। खुद शारदा पत्रिकाले समेत ‘ग्रामीण गीत’ लेखेको थियो। त्यतिबेला यस्तो काम गर्ने भनेका धर्मराज थापा थिए। उनले पनि आफ्नो कृति ‘वनचरो’ मा असारे र झ्याउरे गीत भनेर चिनाएका थिए। यस्तो स्थितिमा मैले तयार पारेको पुस्तकको नाम राखेँ, ‘हाम्रो लोकसंस्कृति’।

नेपाली भूगोल, भाषा र समाजको प्रचलनअनुसारका स्थायी, अन्तरा रहेका लोकगीतको संग्रहले नेपालको सांस्कृतिक तथा साहित्यिक सभ्यताको परिचय दिएको थियो, ‘हाम्रो लोकसंस्कृति’ पुस्तकले। यही किताबले २०१३ मा मदन पुरस्कार गुठी स्थापना भएकै वर्ष मदन पुरस्कार जितेको थियो। 

बुढ्यौलीका अन्तिम दिनमा पनि जोशी गाउँकै कुरा गर्थे। लोकभाकाका विषय उठान गर्थे। प्रकृतिका कुरा गर्थे। उनले सत्यमोहन किताबमा लेखेका छन्– जहिले–जसले यी गीत लेखेका होलान्, तिनले पनि त चराबाटै टिपेका होलान्। उनीहरूका वेदना र उनीहरूको आवाजलाई अर्थ्याइदिएका होलान्।

त्यसैगरी ‘कर्णाली लोकसंस्कृति–१ इतिहास’ पुस्तक २०२८ मा उबेलाको राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो। 

२०२७ मा राजकीय प्रज्ञा प्रतिष्ठानले विभिन्न फाँटका विद्वारूलाई देशका विभिन्न कुनाकाप्चामा अनुसन्धानका लागि पठाएको थियो। सोही क्रममा २०२७ जेठ र असारमा जोशीसहितको पाँच सदस्यीय  टोली (प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र सत्यमोहन जोशी) ५० दिने अनुसन्धानमा कर्णाली पसेका थिए। सोही अनुसन्धानमाछि जोशीले ‘कर्णाली लोकसंस्कृति’ लेखेका थिए, जसले २०२८ मा मदन पुरस्कार पाएको थियो। 

पुस्तकमा कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँच वटा खण्ड छन्। पुस्तकलाई २०२८ मा मदन पुरस्कारबाट सम्मानितन गरिएको थियो। यो पुस्तक कर्णाली क्षेत्रबारे अग्रगामी अध्ययन मानिन्छ। नेपालमा हास्यव्यंग्य महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने जस पनि उनै जोशीलाई जान्छ। 

तत्कालीन राजा वीरेन्द्रले विरोधीको स्वर सुन्न एउटा व्यवस्थित ठाउँ खोज्न आग्रह गर्दा त्यस्तो काम प्रज्ञा प्रतिष्ठानले नै गर्नुपर्ने उनको सुझाव थियो। बेलायत पढेका राजा वीरेन्द्र लन्डनको ‘स्पीकर कनर्स’बाट प्रभावित थिए, जहाँ वक्ताले आफ्ना असन्तोषका कुरा मन फुकाएर राख्न पाउँथे। यस्ता विरोधलाई कलात्मक रूपमा प्रस्तुत गर्न गाईजात्रा महोत्वस उपयुक्त हुने सुझाव संस्कृतिविद् जोशीको थियो। यो सुझाव स्वीकृत भएपछि उनले हास्यव्यंग्यमा काम गरिरहेका साहित्यकार र कलाकारलाई बटुलेरै महोत्सव थालनी गरे।

२०३५ बाट सुरु भएको यही महोत्सवबाट पछिल्लो समयका मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरू जन्मिएका थिए।

नाटक, संगीत र साहित्यमा बाँचे 
जोशीले खोज र अनुसन्धानमा मात्रै सीमित भएनन्। आफूले संकलन गरेको खोज– अनुसन्धानलाई पुस्तककारका रूपमा पनि बाहिर ल्याए। जोशीले नेपाल भाषामा थुप्रै पुस्तक लेखे। जोशीलाई सिद्धहस्त नाटककारका रूपमा पनि चिन्न सकिन्छ। उपत्यकाको नेवारी परम्परा र देवीदेवतालाई मिथक बनाएर लेखेको ‘मजिपा लाखे’, ‘सुन केशरी’, ‘चारुमती’ चर्चित नाटक हो। ऐतिहासिक तथा लोकसंस्कृतिमा आधारित दर्जन बढी नाटक लेखे, उनले। 

सांगीतिक कार्यक्रममा समेत जोशीले संगीतले मौलिकता गुमाएकोप्रति चिन्ता व्यक्त गरिरहन्थे। संस्कृतिविद्को छायामा जोशीको गीतकारको व्यक्तित्व ओझेल परेको देखिन्छ। कमैले उनलाई कुशल गीतकारको रूपमा चिन्छन्। 

संगीतकार सन्तोष श्रेष्ठ सत्यमोहन जोशीको गीतमा संगीत गर्न पाएर धन्य भएको बताउँछन्। ‘समग्र नेपाली लोकसंस्कृति र लोकसाहित्यलाई बोकेर राम्रा–राम्रा शब्द उहाँको जीवनकालमै रेकर्ड भएर आउनुपथ्र्यो। उहाँले सुन्न पाउनुपर्थ्यो। धेरै मान्छेको बुझाइ कस्तो रह्यो भने उहाँ लोकसंस्कृतिको खोज–अनुसन्धान गर्ने अध्येता मात्र भन्ने बुझाइ भयो। गीति पक्ष ओझेल परेको अनुभूति मैले गरें’, उनले भने, ‘जब मैले उहाँलाई भेटें, उहाँको गीतमा पाइने जीवन्त खुराक, जीवनदर्शन निकै गहिराइमा रहेछन्। उहाँले मलाई त्यतिबेला पहिलो गीतको मेलोडी बनाउन भन्नुभएको थियो।’

नेपाली भाषा, कला–संस्कृति संरक्षण,  सम्वद्र्धन र विकासमा लागिपरेकाले योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्रबाट सम्मानित गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ। तीन पटकसम्म मदन पुरस्कार जित्न सफल  जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासंग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्। 

आफ्नो कृति आफैं विमोचन
यस्ता भाग्यमानी लेखक हुन् जोशी, जसले आफ्नो आत्मकथा आफ्नै हातबाट विमोचन गरे। पत्रकार एवं लेखक गिरीश गिरीको लेखनमा तयार भएको पुस्तकलाई पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा अघिल्लो वर्ष मात्रै विमोचन गरेका थिए। जोशीले किताबमा प्रयोगको रूपमा ‘जुरेली दर्शन’लाई स्थापित गर्न खोजेका छन्। 

लोक–संस्कृतिलाई हेला गर्ने हो भने जतिसुकै उन्नत भए पनि समावेशीकरण हुन सक्दैन भनेको थिए, जोशीले। बहुल जातजाति र संस्कृति भएको नेपाललाई लोक–संस्कृतिले राष्ट्रिय एकतामा जोड्न बताएका थिए । जोशीको इमानदारी, नम्रता, सोचाइ र दर्शनले हरेक उमेर समूहलाई छुन्थ्यो। आफू बाँचेको समय भएका ऐतिहासिक घटनाक्रमलाई सकेसम्म उनले बिर्सिएनन्।

सायद जोशी उभिएको मञ्च छैन। पुरस्कार र सम्मान हस्तान्तरण नगरेको कुनै कार्यक्रम बाँकी छैन। जोशी यस्ता कार्यक्रममा घन्टौं धारा प्रवाह बोलिदिन्थे। एकछिन बोल्न उभिएका जोशीले घन्टौं बोलेका दृष्टान्त अनेक छन्, अथाह छन्। जीवनका अन्तिम वर्षमा पनि उनले किताबकै कुरा गरे। खोज–अनुसन्धानका कुरा गरे। लोक–संस्कृतिका कुरा गरे। आफ्नै पुस्तकको लोकार्पणमा पनि उनले लामै बोलेका थिए। 

उनको जीवनी लेखेका गिरी भन्छन्, ‘जस्तै भीमबहादुर पाँडे, कृतिनिधि विष्टबारे घन्टौं कुरा गरिदिनुहुन्थ्यो। गहिरो फल्यासब्याकमा जानुहुन्थ्यो।’  

सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’मा धेरै कुरा बाहिर चुहाइएका  छन्, जसले नेपालको सांस्कृतिक, धार्मिक, पौराणिक, साहित्यिक, राजनीतिलगायत विषयवस्तुको ऐतिहासिक तथ्यलाई उजागर गरिदिन्छ। उमेरको हिसाबले, कर्मको हिसाबले, कामको हिसाबले आफैंमा एउटा इतिहास बनेका सत्यमोहनको आत्मकथा कुनै विश्वविद्यालयभन्दा कम छैन। 

गायक अमृत गुरुङका अनुसार यदी जोशी हुन्थेनन् भने हिजोको जनजिब्रोको भाका अहिले रेडियो, टिभीमा बज्दैनथे। उनी भन्छन्, ‘श्रुति परम्पराबाट आएका गीतहरू समयक्रममा हराउँदै गएकामा चिन्ता गर्दै विगतमा दूरदराजबाट लोकसाहित्य संकलन गर्ने सत्यमोहनलगायतका व्यक्तित्व धन्यवादका पात्र भए।’ 

निरंकुश जहानियाँ राणा शासन, २००७ को प्रजातन्त्र, पञ्चायत, २०४६/४७ को आन्दोलन, दस वर्षे सशस्त्र माओवादी द्वन्द्व, राजतन्त्रको पतन र गणतान्त्रिक नेपालको अभ्युदयसमेत देखेका जोशीले एउटा युगभित्र कयौं भूमिका बाँचे। कहिले नेपाल–अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सह–प्राज्ञ। जहाँ, जे भए पनि सत्यमोहनले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज–अनुसन्धानको काम भने जारी राखे।

राणा शासनदेखि २०६३ को गणतन्त्रसम्मका सबै उथलपुथलका  इतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार थिए। जीवित अवस्थामै हुलाक टिकटमा नाम प्रकाशित हुने उनी पहिलो नेपाली नागरिक हुन्।

पछिल्लो एक वर्ष छाडेर बाँकी १०२ वर्ष जोशीको अतीत र वर्तमान कहिल्यै बूढो भएन। जवान रह्यो। सधैं सक्रिय, बोल्न सक्ने, ज्ञानी तपस्बीजस्ता थिए, जोशी। 

‘उमेर भन्ने कुरा मुडमा निर्भर हुँदो रहेछ। परिस्थतिलाई व्यवस्थापन गर्नुपर्ने रहेछ। त्यसबाट सकेसम्म अभ्यस्त बनाएर लगेको हुँ आफूलाई’, सत्यमोहन कृतिका लेखक गिरीले भने, ‘म अहिले पनि सान्दर्भिक छु भन्ने भाव पैदा गराउने प्रभावकारी व्यक्तित्व हुन्, जोशी।’

समाज र साहित्य, संस्कृतिमा बढ्ता काम गरेका जोशीले कला, साहित्य र लोक–संस्कृतिसँग जोडिएका घटनामाथि नै अनेक किस्सा बाँधे। कला

, साहित्य, संगीत, नाटक, संस्कृति र समाजका लागि उनी अभिभावक थिए। उनै अभिभावकले नश्व शरीर त्यागे पनि आज र भोलिका पुस्तालाई समेत नयाँ मार्गमा डोर्‍याइरहनेछन्।

प्रकाशित: Oct 16, 2022| 15:30 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।