बुटवल– प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। पत्रकार सम्मेलन गर्दै उनले आफू स्वतन्त्र रुपमा रुपन्देहीमा अघि बढ्ने योजना सुनाए।
स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए।
उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ। नेता भुसाललाई माओवादीले आफ्नो भागमा परेको यो क्षेत्र छोड्ने बताइएको छ।