बिहीबार, वैशाख ३१, २०८३

थारु बस्तीमा दसैंको रौनकता

सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन्।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

कञ्चनपुर- थारु गाउँमा दसैँको रौनकता छाएको छ। सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन्। विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दसैंलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन्। विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन्। कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दसैं मनाइएको थियो।

National life

सामूहिकरुपमा टीका थाप्न पाइएको थिएन। कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन्। विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दशैँ मनाइरहेको कृष्णपुर नगरपालिका–२ का दुर्गाप्रसाद चौधरीले बताए।

‘यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ’, उनले भने, ‘विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ’, ‘दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ’, उनले भने, ‘महिला पुरुष, युवायुवती सबैको सामूहिकरुपमा नाचगानमा सहभागिता रहेको छ, यस बेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्।’

सामूहिकरुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्याउने उनको भनाइ रहेको छ। दसैंका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ।   अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ।

दसैँका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ। यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ। घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गरेका छन। अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ। नवमीको दिनदेखि दशैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ। 

नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने  गरेको दानसिंह दहितले बताए।  उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गरेको छ।  

दसैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (वडघर)बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ। थारु समुदायमा अरु समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने रहेको छैन। थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन्।

पहिला चामलको पिठोको सेतो टीका दशैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए। हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ।   -रासस


प्रकाशित: Oct 05, 2022| 09:40 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।