नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ रोहणी स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहले भ्यूटावर निर्माणमा अनियमितता गरेको पाइएको छ। भ्यूटावर निर्माणका क्रममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली सहित तीनजना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो। सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सासमेत बेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्यूटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिल माया रानाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए।
सिर्जना सामुदायिक वन उपभोक्ता समूहले लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्यूटावर निर्माण गरेको भन्ने आरोप लागेको छ। आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा उक्त भ्यूटावर निर्माणका लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिइ १५ लाख आठ हजार ६ सय नौ रुपैयाँ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको आरोप छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफा १७ ले निर्देषित गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (च) बमोजिम बिगो दाबी गरिएको छ।
‘बिगो दाबी गरिएको १५ लाख आठ हजार ६ सय नौ रुपैयाँ कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना हुन एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको रकमसमेत निजहरूबाट असुलउपर हुन मागदाबी छ,’ आरोपपत्रमा उल्लेख छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा ३५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आरोपपत्र दायर गरिएको छ।’